रोनाल्डोलाई ‘बालोन डि‘ओर कसले जित्छ’ भनेर सोधेपछि …..

एजेन्सी, जेठ २८
दुई दिनअघि युइएफए नेसन्स लिग फुटबलको फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगललाई उपाधि जिताउन गुडेसले १ मात्रै निर्णायक गोल गरे ।

त्यसअघि सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले हराएर फाइनल पुगेको थियो । सोक्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।

आफ्नो करिअरमा दोस्रोपटक अन्तर्राष्ट्रिय उपाधि जितेपछि निकै खुसी देखिएका रोनाल्डोलाई अवार्ड वितरणपछि पत्रकारले थुप्रै प्रश्न सोधे । सोक्रममा रोनाल्डोलाई २०१९ को बालोन डि‘ओर अवार्डको सम्भावित विजेताबारे पनि सोधिएको थियो ।

पत्रकारले रोनाल्डोलाई ‘तपाईंले अन्तर्राष्ट्रिय उपाधि जित्नुभयो । अब बालोन डि‘ओर कसले जित्ला त’ भनेर सोधेको प्रश्नमा रोनाल्डोले घुमाउरो पारामा आफू दाबेदार रहेको बताए । उनले भने–

‘मैले यस वर्ष तीन उपाधि जितें । नयाँ लिगबाट उपाधि जितें । मसँग अन्तर्राष्ट्रिय उपाधि छ । प्रदर्शनका हिसाबले मैले राम्रो गरेको छु । मैले योभन्दा बढी के गर्न सक्छु ?’

उनले अघि थपे, ‘यो मैले निर्णय गर्ने कुरा होइन । निर्णय गर्नेमध्ये तपाईं पनि एक हो । मलाई यसबारे थप बोल्नु छैन । समय कुरौं ।’

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार १२:५८
Loading...