यसकारण बार्सिलोना जान चाहँदैनन् डि लिग्ट

एजेन्सी, जेठ २८
गत जनवरी सिजनबाटै स्पेनिस बार्सिलोना डच क्लब आयाक्सका युवा डिफेन्डर डि लिग्ट अनुबन्ध गर्ने दाउमा छ । उसले सोही क्लबबाट जनवरीमै फ्रेन्की डे जोङ भित्र्याइसकेको छ ।

आफ्नो योजनाको मुख्य टार्गेटमा राखे पनि बार्सिलोनाले १९ वर्षीय युवा खेलाडी भित्र्याउने सबालमा ठोस प्रगति हात पार्न सकेको छैन । बार्सिलोना डि लिग्टका लागि माग भएजति रकम र उनका एजेन्टलाई तिर्नुपर्ने रकममा सहमत हुन सकेको छैन ।

यही अवस्था बुझेर युरोपका अन्य ठूला क्लबले बार्सिलोनाको नम्बर वान टार्गेटमा रहेका खेलाडी भित्र्याउन सक्रियता बढाएपछि बार्सिलोना खेलाडीको मूल्य बढाउन तयार भएको छ । बार्सिलोना यसअघि डि लिग्टका एजेन्टलाई दिने रकम तिर्न सहमत भएको थिएन ।

त्यत्ति मात्रै हैन, डि लिग्टका लागि आयाक्सलाई तिर्ने मूल्य र बार्सिलोनामा डि लिग्टले पाउने सुविधासमा समेत दुई क्लबबीच कुरा मिल्न नसकेको बताइएको थियो ।

तर, डि लिग्टलाई फ्रेन्च क्लब पिएसजीले मोटो रकम तिरेर भित्र्याउने तयारी गरेपछि तर्सिएको बार्सिलोनाले आयाक्सलाई ७५ मिलियन युरो खर्चिन तयार भएको छ । ‘रेडियो क्याटालुनिया’का अनुसार बार्सिलोनाले डि लिग्टका ७५ मिलियन युरोको अन्तिम अफर आयाक्सलाई दिएको छ ।

तर, डि लिग्ट भने इटालियन कलब युभेन्टस जाने चाहेको चर्चा छ । नेसन्स लिगको फाइनलमा पोर्चुगलसँग हारेपछि मिडियासँग बोल्दै उनले भनेका थिए, ‘म अर्को सिजन कुन जर्सी लगाउँछु, अझै थाहा छैन । म अब बिदामा जानेछु । र, सोच्नेछु,’ उनले भने ।

बार्सिलोनाको सम्भावित सरुवाबारे उनले भने, ‘अहिलेसम्म केही कुरा पनि टुंगो लागेको छैन । मैले सोच्नुपर्छ ।’

डि लिग्टले बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा आफ्नो भविष्य सुरक्षित देखेका छैनन् । र, यसै कारण उनले बार्सिलोनाको प्रस्ताव सजिलै स्वीकारेका छैनन् ।

टिममा हाल भएका जेरार्ड पिके र सामुएल उम्टिटीलाई छाडेर भाल्भर्डेले आफूलाई रोजाइमा राख्नेमा उनी ढुक्क छैनन् । र, उनले सो कुरा स्पष्ट रूपमा बताए ।

‘म जहाँ जान्छु, शतप्रतिशत खेल्न चाहन्छु । यो मेरो खेल्ने समय हो । म बेन्चमा बस्ने खेलाडी होइन,’ उनले भने ।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ०६:५५
Loading...