रियल मड्रिडले ‘प्रभावशाली’ डिफेन्डर भित्र्याउने पक्का !

एजेन्सी, जेठ २८
स्पेनिस क्लब रियल मड्रिडलाई यतिबेला खेलाडी भित्र्याउन भ्याइनभ्याई छ । उसले इंग्लिस क्लब चेल्सीबाट इडेन हाजार्ड र जर्मन क्लब फ्रान्कफुर्टबाट लुका जोभिक अनुबन्ध गरिसकेको छ । त्यसअघि उसले इंग्लिस म्यानचेस्टर सिटीबाट ब्राहिम डियाजलाई किनिसकेको छ ।

अबको चरणमा उसले फ्रेन्च क्लब लियोनका प्रभावशाली लेफ्ट ब्याक फर्लान मेन्डी भित्र्याउने नजिक पुगेको छ । लेफ्ट ब्याक साइडमा निकै प्रभावशाली खेलाडी मानिने मेन्डी लियोनका प्रमुख हतियार हुन् ।

रियलले हाल टोलीमा रहेका मार्सेलोको दीर्घकालीन विकल्पका रूपमा मेन्डीलाई अनुबन्ध गर्ने पक्का भएको फ्रान्सका राष्ट्रिय टोलीका प्रशिक्षक डेडिएर डेसच्याम्प्सले पुष्टि गरेका छन् । उनले मिडियासँग बोल्दै आफ्नो सुझावमा मेन्डी रियलसँग अनुबन्ध नजिक पुगेको बताए ।

२२ वर्षीय युवा खेलाडी रियल पुगेपछि उसको रक्षापंक्ति थप बलियो हुनेछ । मेन्डी कोच जिनेदिन जिदानको नजरमा परेका खेलाडी हुन् ।

ब्राजिलियन मार्सेलो इटालियन क्लब युभेन्टस जाने चर्चा छ । आफ्ना पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँग एक हुन उनले रियल छाड्ने तयारी गरेका छन् ।

मेन्डीपछि रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र टोटनह्यामका क्रिस्टिएन एरिक्सनमध्ये एक स्टार मिडफिल्डर भित्र्याउने पक्काजस्तै छ ।

त्यसैगरी, उसले फ्रेन्च क्लब पिएसजीबाट नेइमार र केलियन एमबाप्पेमध्ये एक स्टार फरवार्ड भित्र्याउन चाहेको छ । पछिल्ला रिपोर्टअनुसार एमबाप्पे अप्रत्यासित रूपमा यसै सिजनबाट रियलमा अनुबन्ध हुने सम्भावना छ ।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ०६:३३
Loading...