no-image

एजेन्सी, जेठ २८
सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर कसले जित्ला भन्ने चर्को अड्कलबाजी र चर्चा सुरु हुन थालिसकेको छ । यसपटक मुख्य रूपमा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइक, अर्जेन्टिनाका लिओनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, पोर्चुगलकै बर्नान्डो सिल्भा, इजिप्टका मोहमद सालाह, सेनेगलका साडियो माने दौडमा छन् ।

सिजन २०१८/१९ र २०१९को यहाँसम्मको अवधिको प्रदर्शनलाई हेरेर बालोन डि‘ओरका दाबेदार १० खेलाडीको सूची ‘र्‍याङकिङ’ सार्वजनिक गरेको छ । जसमा इंग्लिस क्लब लिभरपुलका भान डाइक अगाडि छन् ।

युरोपियन च्याम्पियन्स लिगमा लिभरपुललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका भान डाइकलाई स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीभन्दा पनि बलियो दाबेदार मानिएको छ ।

भर्खरै सकिएको सिजनमा मेस्सीले व्यक्तिगत रूपमा शानदार सिजन बिताउँदै ५१ गोल गरे पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले भोगेको असफलताका कारण मेस्सीलाई ठूलो झट्का लाग्ने देखिएको छ ।

किनभने, विगत वर्षका रेकर्ड हेर्दा पनि बालोन डि‘ओर अवार्डका लागि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता र च्याम्पियन्स लिगको प्रदर्शन र उपाधिलाई नै मुख्य आधार मान्ने गरिएको छ ।

त्यसैले सन् २०१९ मा मेस्सीले व्यक्तिगत रूपमा बार्सिलोनाबाट उच्च प्रदर्शन गर्दै ५१ गोल र १९ गोलका लागि असिस्ट गरे पनि च्याम्पियन्स लिगमा असफल भएपछि उनले बालोन डि‘ओर जित्ने सम्भावनामा झट्का लागेको छ ।

तर, आजको ३ दिनपछि ब्राजिलमा सुरु हुने कोपा अमेरिका फुटबलमा मेस्सीले लयमा प्रदर्शन गर्दै अर्जेन्टिनालाई उपाधि जिताउन सकेको खण्डमा पनि उनी स्पष्ट रूपमा बालोन डि‘ओरको नम्बर वान दाबेदार बन्नेछन् । तर, अर्जेन्टिनालाई धेरैले कोपाको दाबेदार टिम मानेका छैनन् ।

२ दिनअघि भएको युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगललाई उपाधि जिताएपछि रोनाल्डोलाई पनि दाबेदारका रूपमा हेरिएको छ । हाल बालोन डि‘ओरका दाबदार खेलाडीमध्ये धेरै उपाधि जित्नेमा रोनाल्डो र पोर्चुगलकै बर्नान्डो सिल्भा रहेका छन् ।

सार्वजनिक ‘र्‍याङकिङ’ टप–१० खेलाडी :

  1. भर्जिल भान डाइक, लिभरपुल
  2. लिओनल मेस्सी, बार्सिलोना
  3. बर्नान्डो सिल्भा, म्यानचेस्टर सिटी
  4. साडियो माने, लिभरपुल
  5. एलिसन बेकर, लिभरपुल
  6. रहिम स्ट्रलिङ, म्यानचेस्टर सिटी
  7. मोहमद सालाह, लिभरपुल
  8. क्रिस्टियानो रोनाल्डो, युभेन्टस
  9. इडेन हाजार्ड, चेल्सी/रियल मड्रिड
  10. केलियन एमबाप्पे, पिएसजी

गोल र अन्य तथ्यांक :

  • भान डाइक – २०१८/१९ पिएफपी प्लेयर अफ् द इयर र युसिएल विजेता
  • मेस्सी – सबै प्रतियोगिताबाट २०१९ मा ३० गोल)
  • सिल्भा – २०१९ मा १७ खेलमा १६ मा जित (क्लब)
  • माने – २०१९ मा प्रिमियर लिगमा १४ गोल
  • एलिसन – २०१९ मा २७ क्लिन सिट
  • स्टर्लिङ – २०१९ मा गोल प्लस असिस्ट २०
  • सालाह– २०१९ मा गोल प्लस असिस्ट १७
  • रोनाल्डो – क्लब र देशका लागि गरी १७ गोल
  • हाजार्ड – २०१९ मा गोल प्लस असिस्ट १६
  • एमबाप्पे – २०१९ मा लिग वानमा २० गोल

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ०६:५६
Loading...