एमबाप्पे पिएसजी छाडेर रियल मड्रिडको बाटोमा !

एजेन्सी, जेठ २७
फ्रेन्च क्लब पिएसजीका युवा खेलाडी केलियन एमबाप्पेले क्लब छाड्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार क्लबका पछिल्ला घटनाक्रमबाट एमबाप्पे निराश छन् ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका २० वर्षीय एमबाप्पेले पिएसजीमा आफ्नो सही मूल्यांकन नभएको ठानेका छन् । जसका कारण उनी निराश छन् ।

केही समयअघि लिग वानमा सिजनको उत्कृष्ट खेलाडीको अवार्ड ग्रहण गर्ने समारोहमा बोल्दै एमबाप्पेले ‘आफू नयाँ र थप चुनौतीका लागि तयार हुनुपर्ने’ भन्दै क्लब छाड्न सक्ने संकेत दिएका थिए ।

यी गोल मेसिन युवा खेलाडी भित्र्याउन स्पेनिस रियल मड्रिडले विशेष चासो दिइरहेको छ । रियलका पूर्वप्रशिक्षक जिनेदिन दिदान पुनः प्रशिक्षक बनेर फर्किएपछि रियलको प्राथमिकतामा एमबाप्पे रहेको बताइन्छ ।

‘एबिसी’ मा प्रकाशित विशेष रिपोर्टअनुसार एमबाप्पले क्लबमा आफ्नो सही मूलयांकन नभएले क्लब छाड्ने तयारी गरेका छन् । र, उनी जिदानको नेततृत्वमा काम गर्न चाहन्छन् ।

जिदान र एमबाप्पे दुवै फ्रान्सकै भएकाले जिदानको पहलमा एमबाप्पे रियल जाने सम्भावना प्रबल छ । रिपोर्टअनुसार एमबाप्पेले बालोन डि‘ओरजस्ता ठूला अवार्ड जित्न रियल नै सबैभन्दा सही क्लब ठानेका छन् ।

एमबाप्पेका पिता स्वयं छोराको सरुवाका लागि सक्रिय भएको बताइएको छ । उनका पिताले छोरालाई ला लिगा क्लबमा अनुबन्ध गराउन चाहेका छन् ।

एमबाप्पेका पिता विलफ्राइड एमबाप्पे र रियलका कोच जिदान साथी–साथी भएकाले पनि एमबाप्पे सरुवाका लागि रियललाई निकै सजिलो हुने बताइएको छ ।

हाल पिएसजीमा एमबाप्पे प्रतिसिजन १३ मिलियन युरो मात्रै कमाउँछन् । तर, नेइमारले भने उनको भन्दा झन्डै तेब्बर ३६ मिलियन युरो प्रतिसिजन कमाइ गर्छन् ।

सेवा–सुविधामा यति ठूलो फरकबाट एमबाप्पे खुसी छैनन् । र, उनी आफूले हालको भन्दा राम्रो स्तरमा हक राख्ने ठानेका छन् । सोही कुराबाट बेखुसी भएका उनका बुबाले यसै सिजनमा छोराको सम्भावित सरुवबारे सक्रियता बढाएको खबर छ ।

प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार १५:३८
Loading...