रोनाल्डोले मलाई युभेन्टस आउन भनेका छन् : डि लिग्ट

एजेन्सी, भदौ २७
इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले डच क्लब आयाक्सका युवा डिफेन्डर डि लिग्टलाई आफ्नो क्लबमा अनुबन्ध हुन अनुरोध गरेका छन् । गत राति युइएफए नेसन्स लिगको फाइनल खेलपछि रोनाल्डोले आफूसँग यस्तो अनुरोध गरेको डि लिग्ट स्वयंले बताएका छन् ।

फाइनल खेलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर उपाधि जितेको थियो । खेल सकिएपछि मैदानमै रोनाल्डो र डि लिग्टले केहीबेर कुराकानी गरेका थिए ।

‘रोनाल्डोले मलाई युभेन्टसमा अनुबन्ध हुने भनेका छन्,’ डि लिग्टले खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै भने ।

‘उनले यसो भन्दा म आश्चार्यमा परें । नपत्याएर म त हाँसें पनि,’ डि लिग्टले भने, ‘सुरुमा मैले बुझिनँ । उनले साँच्चै भनेका हुन् कि ठट्टा गरेका हुन्, थाहा छैन ।’

‘के तपाईं युभेन्टस नै जाँदै हुनुहुन्छ त’ भनेर सोधिएको प्रश्नमा डि लिग्टले भने, ‘म अब बिदामा जाँदैछु । यसबारे सोच्ने समय मसँग छ ।’

केही समयअघि मात्रै डि लिग्टले एक अन्तर्वार्तमा आफू युभेन्टसका डिफेन्डरद्वय बोनुची र किलिनीबाट प्रेरित रहेको र उनीहरूसँग खेल्ने इच्छा रहेको बताएर युभेन्टस जान सक्ने संकेत दिएका थिए ।

यता, स्पेनिस बार्सिलोनाले नयाँ सिजनका लागि उनलाई अनुबन्ध गर्न प्रयास गरिरहेको छ । उसले आयाक्ससँग पहिलो चरणको छलफलसमेत गरिसकेको छ । तर, आजसम्म बार्सिलोननले यसबारे ठोस प्रगति गर्न सकेको छैन ।

यता, १९ वर्षीय युवा डिफेन्डरका लागि युरोपका अन्य ठूला क्लबले पनि आँखा लगाइरहेका छन् । खास गरी पिएसजी र म्यानचेस्टर युनाइटेड दौडमा छन् ।

प्रकाशित मिति २७ जेष्ठ २०७६, सोमबार ०५:१७
Loading...