नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

काठमाडौं, जेठ २७
युइएफए नेसन्स लिग फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करणको उपाधि पोर्चुगलले जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान आफ्नो घरमा भएको फाइनल खेलमा पोर्चुगलले पाहुना टोली नेदरल्यान्ड्समाथि १–० को कठिन जित निकाल्दै उपाधि पोल्टामा पारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा पोर्चुगलले दर्जनौंपटक नेदरल्यान्ड्सको पोस्टमा प्रहार गरे पनि नेदरल्यान्ड्सले पनि एकपटक प्रहार गर्न सकेन । उसलाई पोर्चुगलको रक्षापंक्ति तोड्ने हम्मे परेको थियो ।

दोस्रो हाफमा पोर्चुगलले थप आक्रामक खेल खेल्दै पाहुना टोलीमाथि दबाब बढाएको थियो । सोहीक्रममा खेलको ६०औं मिनेटमा गोनकालो गुडेसले आकर्षक प्रहार गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । उनले बर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए ।

त्यससपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल भएन । र, गुडेसको एक मात्रै गोलको मदतमा पोर्चुगलले उपाधि पोल्टामा हाल्यो ।

यससँगै पोर्चुगलले चार वर्षको बीचमा दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छ । उसले सन् २०१६ मा युरो कप जितेको थियो ।

पोर्चुगललाई फाइनलमा लैजान कप्तान क्रिस्टियानो रोनाल्डोले सेमिफाइनलमा सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । उनकै प्रेरणादायी प्रदर्शनमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै फाइनल पुगेको थियो । फाइनलमा रोनाल्डोले गोल नगरे पनि उनले टिमलाई लयमा राख्न महत्त्वपूर्ण योगदान दिए ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार २०:३३
Loading...