‘रोनाल्डो फाइनलमा हार्दैनन्, नेसन्स लिग जित्छन्’

एजेन्सी, जेठ २६
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति पोर्चुगल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दैछन् । पोर्चुगलमा हुने सो खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य केन्द्रमा हुनेछन् ।

किनभने, घरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर उनी आफ्नो नाममा दोस्रो ठूलो अन्तर्राष्ट्रिय उपाधि सुरक्षित गर्ने दाउमा छन् । ३४ वर्षीय रोनाल्डोले हालसम्म देशबाट तीन फाइनल खेलेका छन् । जसमा एक हारेका छन् भने एक जितेका छन् ।

सन् २००४ मा युरो कपको फाइनलमा ग्रीससँग खेल्दा पोर्चुगल १–० ले हारेको थियो । त्यसपछि सन् २०१६ मा भएको युरो कपमै पोर्चुगलले फ्रान्सलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।

सो प्रतियोगितापछि आफ्नो देशको नेतृत्व गर्दै तेस्रोपटक फाइनल पुगेका रोनाल्डो जसरी पनि यो उपाधि जित्ने दौडमा छन् । र, खेलअघि उनले आफूले देशलाई उपाधि जिताउन सबथोक दिने बताएका छन् ।

फाइनलमा पोर्चुगल र नेदरल्यान्ड्स भिड्नुअघि राष्ट्रिय टिमका सहकर्मी तथा क्लबका पूर्वसहकर्मी नानीले पोर्चुगलले नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने दाबी गरेका छन् । विगतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट सँगै खेलेका नानीले रोनाल्डो फाइनलमा नहार्ने खेलाडी रहेको बताए ।

‘उनले फाइनल पुगेपछि अधिकांश उपाधि जितेका छन् । मलाई विश्वास छ, नेसन्स लिगमा पनि उनले टिमलाई उपाधि जिताउँछन्,’ नानीले एक अन्त्र्वार्तामा भने ।

नानीले नेदरल्यान्ड्स बलियो टिम भए पनि पोर्चुगलको टिममा पनि युवा र अनुभवी खेलाडी भएको बताए । ‘नेदरल्यान्ड्स निकै बलियो टिम हो । तर, पोर्चुगलसँग रोनाल्डोजस्ता अनुभवी र अन्य युवा खेलाडी छन् । उनीहरूले उपाधि जित्ने क्षमता राख्छन्,’ नानीले थपे ।

नानीले यो पनि बताएका छन् कि, पोर्चुगलले नेसन्स लिग जिते रोनाल्डो सन् २०१९ को बालोन डि‘ओरको प्रमुख दाबेदार बन्नेछन् । ‘यदि रोनाल्डोले यो उपाधि जिते उनी तत्कालका लागि बालोन डि‘ओर अवार्डमा प्रमुख दाबेदार बन्नेछन्,’ नानीले भने ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १४:५८
Loading...