पूर्वखेलाडी भन्छन्– ‘बार्सिलोनाले उपाधिभन्दा बढी व्यापारमा ध्यान दिइरहेको छ’

एजेन्सी, जेठ २६
बार्सिलोनाले राम्रा खेलाडी भित्र्याउनेमा भन्दा व्यापारमा बढी ध्यान दिएकाले ठूला प्रतियोगिता जित्न नसकेको पूर्वखेलाडी डेकोले बताएका छन् । विगतमा चार सिजन बार्सिलोनाबाट खेलेका पोर्चुगिज खेलाडीले बार्सिलोना आफ्नै गलत कार्यशैलीका कारण आलोचित र असफल बनिरहेको बताए ।

सन् २००४ देखि २००८ सम्म बार्सिलोनामा बिताएका डेकोले बार्सिलोना एक खेलाडीमा निर्भर रहनु र राम्रा खेलाडी भित्र्याउनेभन्दा बढी पैसा कमाउने ध्याउन्नमा लाग्दा ठूला उपाधि जित्न नसकिरहेको बताए ।

‘बार्सिलोना हालको अवस्था आइपुग्नसमा क्लबको नेतृत्वको कार्यशैली र योजनामा म समस्या देख्छु । किनभने, उनीहरूले उपाधि जित्नेभन्दा बढी व्यापार गर्नेमा पछिल्ला वर्ष जोड दिए,’ डेकोले भने, ‘क्लबका लागि व्यापार पनि महत्त्वपूर्ण कुरा हो तर त्यो उपाधिभन्दा ठूलो होइन ।’

डेकोले बार्सिलोना लिआनेल मेस्सीमाथि पूर्ण रूपले निर्भर हुँदा समस्या परेको बताए । ‘मेस्सी बार्सिलोनाका मेरुदण्ड हुन् । तर, उनले सधैं खेल र उपाधि जिताउन सक्दैनन्,’ उनले भने, ‘मलाई लाग्छ, यो बीचमा मेस्सीले गोल नगर्दा कसरी खेल जित्ने भन्ने विल्कपको खोजी भएन ।’

डेकोले मेस्सी नखेलेको खेलमा बार्सिलोनालाई खेल जित्न त परकै कुरा गोल गर्नसमेत कठिन हुने बताए । ‘जब मेस्सी मैदानमा छैनन् भने बार्सिलोनालाई खेल जित्न हैन, खेलमा गोल निकाल्नै समस्या पर्छ,’ उनले भने, ‘यस्तो ठूलो क्लबका लागि एक खेलाडीमाथिको यस्तो निर्भरता ज्यादै ठूलो समस्या हो ।’

डेकोले यो बताएका छन् कि, पछिल्ला वर्ष बार्सिलानोले राम्रा खेलाडी भित्र्याउने भन्दा पनि सामान्य खेलाडी ल्याएर प्रयोग गर्ने र बेच्ने गरेको बताए । ‘क्लबमा यस्तो चलिरहन्छ । तर, बार्सिलोनामा आवश्यकभन्दा बढी यस्तो भएको म देख्छु । उनीहरूले पछिल्ला वर्ष मात्रै हेर्ने हो भने उत्कृष्ट खेलाडी भित्र्याउन सकेका छैनन्,’ डेकोले थपे ।

यदि बार्सिलोनाले च्याम्पियन्स लिग जित्ने भए नयाँ र क्षमतावान् खेलाडी भित्र्याउनुपर्नेमा डेकोले जोड दिए । ‘बार्सिलोनाले च्याम्पियन्स लिग नजितेको चार सिजन भयो । यस्तो ठूलो क्लबका लागि यो निकै नसुहाउने कुरा हो,’ डेकोले भने, ‘च्याम्पियन्स लिग जित्नुपर्छ भने भएका खेलाडी बेचेर राम्रा खेलाडी अनुबन्ध गर्नुपर्छ ।’

डेकोले सन् २००४ देखि २००८ सम्म बार्सिलोनामा बिताउँदा ११३ खेल खेल्दै ११ गोल गरेका थिए ।

प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १३:५७
Loading...