काठमाडौं, जेठ २६
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति उपाधि भिडन्त हुँदैछ । पोर्चुगलमा हुने फाइनल खेलका लागि सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् ।
यसअघि सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ तथा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ ले हराएर फाइनल प्रवेश गरेका थिए ।
आज उपाधि भिडन्तमा पोर्चुगलको टोलीमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भालगायत प्रमुख खेलाडी हुनेछन् भने नेदरल्यान्ड्सको टिममा भर्जिल भान डाइक, फ्रेन्की डे जोङ, डि लिग्टलगायत यो समय चर्चामा रहेका खेलाडी हुनेछन् ।
फाइनलमा उपाधिका लागि भिड्न लागेका पोर्चुगल र नदेल्यान्ड्सको विगतको रेकर्ड कस्तो छ ? हेड टु हेडमा को अघि छ ? यसबारे चर्चा गरिएको छ ।
पोर्चुगल र नेदरल्यान्ड्स हालसम्म सबैखाले प्रतियोगिता गरेर कूल १३ पटक भिडेका छन् । जसमा नेदरल्यान्ड्समाथि पोर्चुगल हाबी भएको छ ।
कूल १३ पटक भिड्दा पोर्चुगलले नेदरल्यान्ड्सलाई ७ खेलमा हराएको छ भने ४ खेल बराबरीमा सकिएका छन् । २ खेल मात्रै नेदरल्यान्ड्सले जितेको छ ।
यी दुई टोली अन्तिमपटक अफिसियल प्रतियोगितामा सन् २०१२ को जुन १७ मा युइएफए युरोपियन च्याम्पियनसिपमा खेलेका थिए । त्यसबेला पोर्चुगलले २–१ ले जितेको थियो ।
त्यसअघि यी दुई टिम अन्तिमपटक सन् २०१८ को मार्च २६ मा मैत्रीपूूर्ण खेलमा भिडेका पथिए । सो खेल नेदरल्यान्ड्सले ०–३ ले जितेको थियो ।
यी दुई टिम भिडेका पछिल्ला पाँच खेलमा पोर्चुगलले तीन खेल जितेको छ भने एक खेल हारेको छ । एक खेल बराबरीमा रोकिएको छ ।
नेदरल्यान्ड्सविरुद्ध रोनाल्डोको रेकर्ड कस्तो ?
नेदरल्यान्ड्विरुद्ध पोर्चुगलका कप्तान रोनाल्डोको रेकर्ड राम्रो छ । उनले हालसम्म नेदरल्यान्ड्सविरुद्ध कूल ५ खेल खेलेका छन् । जसमा उनले ३ खेल जितेर १ खेल बराबरी गर्दा १ खेल हारेका छन् । नेदरल्यान्ड्विरुद्ध कूल ५ खेल खेल्दा रोनाल्डोले ४ गोल गरेका छन् ।
प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १३:१८