‘अर्को सिजन बार्सिलोना नील हुनसक्छ’

एजेन्सी, जेठ २५
सिजन २०१८÷१९ मा स्पेनिस महारथि रियल मड्रिड उपाधिमा नील भयो । तीन प्रमुख उपाधिमा उसले कुनै पनि उपाधि जित्न सकेन । भलै, उसले क्लब विश्वकपको उपाधि जित्यो । तर, प्रमुख उपाधिमध्ये कुनै पनि उसको भागमा परेन ।

तर, नयाँ सिजनमा रियलले सबै उपाधि जित्ने लक्ष्य लिएको छ । सोही योजनाअुनसार उसले यस समरमा स्टार र राम्रा खेलाडी भित्र्याइरहेको छ । उसले इंग्लिस क्लब चेल्सीबाट इडेन हाजार्ड र जर्मन क्लब फ्रान्कफुर्टबाट लुका जोभिक अनुबन्ध गरिसकेको छ ।

रियल अझै पनि केही स्टार खेलाडी भित्र्याउने दौडमै छ । अब उसको योजनामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र फ्रेन्च क्लब पिएसजीका नेइमार वा केलियन एमबाप्पेमध्ये एकजना सूचीमा छन् ।

यस्तो तयारी गरिरहेको रियलले सिजन २०१९/२० मा तीनवटै उपाधि जित्न सक्ने दाबी कप्तान सर्जियो रामोसले गरेका छन् । गत राति युरो कप छनौट खेलमा फारोए आइसल्यान्डलाई हराएपछि मिडियासँग कुरा गर्दै रामोसले यस्तो दाबी गरेका हुन् ।

सोही खेल जितेर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै १२२ खेल जित्ने कीर्तिमान बनाएका रामोसलाई ‘रियल मड्रिडको आगामी सिजन कस्तो हुन्छ’ भनेर सोधिएको थियो । पत्रकारको प्रश्नमा सटिक र व्यंग्यात्मक उत्तर दिँदै रामोसले अर्को सिजन ट्रिबेल जित्न सक्ने बताए ।

‘हामीले यस सिजन तीनवटै उपाधि गुमायौं । यसको क्षति हामी नयाँ सिजनमा तीनवटै उपाधि जितेर भरपूर गर्न चाहन्छौं,’ रामोसले भने ।

‘नयाँ सिजनमा बार्सिलोनासँग कस्तो प्रतिस्पर्धा हुनसक्छ’ भनेर सोधिएको प्रश्नमा रामोसले घुमाउरो पारामा बार्सिलोना नयाँ सिजन नील हुनसक्ने बताए । ‘उनीहरू नयाँ सिजनमा के गर्न गइरहेका छन् हामीलाई थाहा छैन । तर, हामी ट्रिबेल जित्न गइरहेका छौं,’ रामोसले हाँस्दै भने ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार १६:०२
Loading...