‘अर्जेन्टिनाले कोपा अमेरिका जित्न सक्दैन’

एजेन्सी, जेठ २५
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका जुन १४ बाट ब्राजिलमा सुरु हुँदैछ । यसपटक साबिक विजेता चिली, साबिक उपविजेता अर्जेन्टिना, ब्राजिल, उरुग्वेलगायतलाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ ।

स्पेनिस बार्सिलोनाबाट खेल्ने लिओनल मेस्सी भएकाले अर्जेन्टिनालाई यसपटक धेरैले उपाधि दाबेदार टिम मानेका छन् । अर्जेन्टिना यसअघिको फाइनलमा चिलीसँग हारेको टिम हो ।

तर, उरुग्वेका फुटबलर डिएगो फोर्लान भने अर्जेन्टिनालाई उपाधि दाबेदार मान्न तयार छैनन् । विगतमा युरोपियन गोल्डेन बुट र पिचिची अवार्डसमेत जितेका फोर्लानका अनुसार यसपटक उरुग्वेले कोपा अमेरिका जित्न सक्छ । उनले अर्जेन्टिनासँग लिओनल मेस्सीजस्ता स्टार खेलाडी भए पनि उनीहरू उपाधि दाबेदार भने नरहेको बताए ।

‘मेरो व्यक्तिगत हिसाबमा अर्जेन्टिनाले कोपा अमेरिका जित्न सक्दैन । किनभने, उनीहरू उत्कृष्ट समयमा छैनन् । यो ठूलो प्रतियोगिता हो । र, त्यहाँ अरू पनि बलिया टिम छन्,’ फोर्लानले एक अन्तर्वार्तामा भनेका छन् ।

अर्जेन्टिनी टिम र मेस्सी यतिबेला सही लयमा नभएको फोर्लान बताउँछन् । ‘उनीहरूसँग विश्वस्तरका थुप्रै खेलाडी छन् । तर, फुटबल टिमले खेल्ने खेल हो । यतिबेला मेस्सी टिम र मानसिक हिसाबले पनि सही समयमा छैनन्,’ उनले भने, ‘मलाई लाग्दैन, यो अर्जेन्टिनाले कोपा जित्ने सही समय हो ।’

फोर्लानले यसपटक उरुग्वेले उपाधि जित्न सक्ने बताए । आफ्नो देशको टिममा निकै राम्रा खेलाडी रहेको र उत्साह रहेको बताउँदै उनले सबैभन्दा बलियो टिम उरुग्वे रहेको बताए । ‘मेरो विचारमा उरुग्वे यसपटक उपाधि जित्ने सबैभन्दा दाबेदार टिम हो । उनीहरूसँगै दबाब छैन । र, सबै खेलाडी फिट छन्,’ फोर्लानले भने, ‘उरुग्वे फाइनल पुग्छ ।’

उरुग्वे कोपा सर्वाधिक धेरै १५ पटक जित्ने टिम हो । त्यसपछि अर्जेन्टिनाले १४ र ब्राजिलले ८ पटक यो उपाधि जितेको छ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार १४:०२
Loading...