कोउटिन्होले बार्सिलोनालाई भने– ‘म क्लब छाड्न चाहन्छु’

एजेन्सी, जेठ २५
स्पेनिस बार्सिलोनाका स्टार खेलाडी फिलिपे कोउटिन्होले नयाँ सिजनअघि नै क्लब छाड्ने तयारी गरेको खबर बाहिरिएको छ । ब्राजिलियन मिडियाको स्रोत उद्धृत गर्दै कोउटिन्होले यसै समरमा आफूले स्पेन छाड्न क्लबसँग अनुरोध गरेको खबर स्पेनिस मिडियाले प्रकाशित गरेका छन् ।

एक वर्षअघि इंग्लिस क्लब लिभरपुलबाट १४५ मिलियन पाउन्डमा बार्सिलोनामा अनुबन्ध भएका ब्राजिलियन मिडफिल्डर बार्सिलोनामा असफल भएपछि उनी निराश छन् । लगातार खराब प्रदर्शनबाट उनको आलोचना बढ्दो छ । प्रशिक्षकले पनि टिममा उनलाई विश्वास गर्न छाडेपछि उनी निराश छन् ।

पछिल्लो समय बार्सिलोना च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिँदा कोउटिन्होको चर्को आलोचना भएको थियो । त्यसपछि दुई हप्तापछि नै कोपा डेल रे फाइनलमा पनि बासिलोना भ्यालेन्सियासँग पराजित भयो । लगातारका दुई उपाधि भिडन्तमा बार्सिलोना हार्दा कोउटिन्होलगायत केही खेलाडीले खराब प्रदर्शन गरेका थिए ।

खास गरी लिभरपुलसँग बार्सिलोना ४–० ले पराजित हुँदा कोउटिन्होको चर्को आलोचना भएको थियो । त्यसैबेलादेखि बार्सिलोनामा कोउटिन्होको भविष्य अनिश्चित देखिएको थियो ।

सरुवा बजार खुला भएसँगै बार्सिलोनाले ११ जना खेलाडी बेच्ने तयारी गरेको र सो सूचीमा कोउटिन्हो पनि रहेको चर्चा छ । बार्सिलोनाले स्टार खेलाडी अनुबन्ध गर्न कोउटिन्होसहित केही खेलाडी बेचेर पैसा बटुल्ने तयारी गरेको बताइएको छ ।

कोउटिन्हो भित्र्याउन फ्रेन्च क्लब पिएसजीदेखि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा चेल्सीसमेत दौडमा छन् । तर, चेल्सी अहिले प्रतिबन्धमा परेको छ । उसले प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको छ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ११:०३
Loading...