१२९औं स्थानको निकारागुवामाथि अर्जेन्टिनाद्वारा गोलको वर्षा !

काठमाडौं, जेठ २५
कोपा अमेरिका फुटबलको तयारीका रूपमा खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मध्यअमेरिकी क्षेत्रको देश निकारागुवामाथि फराकिलो जित निकालेको छ । शनिबार बिहान आफ्नो भूमिमा भएको खेलमा अर्जेन्टिनाले पाहुना टोलीमाथि ५–१ को फराकिलो जित निकाल्यो ।

कप्तान लिओनल मेस्सीसहित पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको अर्जेन्टिनलाई जिताउन कप्तान मेस्सी र लाउटारो मार्टिन्जले समान २–२ गोल गरे । बाँकी १ गोल रावेर्टो पेरेरियाले गरे ।

फिफा र्याङकिङमा १२९औं स्थानमा रहेको निकारागुवाविरुद्ध ११औं स्थानको अर्जेन्टिनाले सुरुबाटै खेल एकपक्षीय बनाएको थियो । जसमा उसले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल हान्यो । आफूले १ गोल पेनाल्टीबाट खायो ।

पहिलो हाफमा २ वटै गोल कप्तान मेस्सीले गरे । उनले २ मिनेटको बीचमा २ गोल गरे । ३७औं मिनेटमा निकारागुवाका ३ जना डिफेन्डरलाई बक्स एरियामा बिट गर्दै मेस्सीले सहजै गोल गरेका थिए ।

लगत्तै अर्को मिनेटमा सर्जियो अगुइरोले हानेको प्रहार गोलरक्षकले पन्च गरेर आएको बलमा नजिकै रहेका मेस्सीले सहजै गोल गरेर खेल २–० बनाए ।

त्यसपछि दोस्रो हाफको सुरमा मेस्सीको ठाउँमा पाउलो डिबाला र सर्जियो अगुइरोको ठाउँमा मार्टिन्ज मैदान छिरे । त्यसपछि पनि अर्जेन्टिना हाबी भयो ।

सोक्रममा अर्जेन्टिनाका लागि ६३औं र ७३औं मिनेटमा गरी सब्सिच्युट खेलाडी मार्टिन्जले २ गोल गरेर खेल ४–० बनाए । अर्जेन्टिना त्यत्तिमै रोकिएन । उसका लागि खेलको ८१औं मिनेटमा पेरेरियाले गोल अर्को गोल थपेपछि अर्जेन्टिना ५–० ले अघि रह्यो ।

तर, त्यसपछि निकारागुवाले पेनाल्टी पायो । अर्जेन्टिनाका डिफेन्डरले बक्स क्षेत्रमा ह्यान्ड बल गरेपछि पाएको पोनाल्टीमा निकारागुवाका लागि ९१औं मिनेटमा जाउन बारेराले गोल गरेपछि खेल ५–१ मा टुंगियो ।

यो खेलपछि अर्जेन्टिना अब कोपा अमेरिका खेल्न ब्राजिल प्रस्थान गर्दैछ । कोपाको समूह ‘बी’मा परेको अर्जेन्टिनाले आफ्नो समूहमा कोलम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०२:२४
Loading...