त्रिन्दाजीको बयान– ‘नेइमारले मलाई बलात्कार र कुटपिट गरे’

एजेन्सी, जेठ २५
फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेइमार अहिले बलात्कार आरोप झेलिरहेका छन् । कोपा अमेरिकाको मुखमा चोट बोकेर टोलीबाहिर भएका नेइमार बलात्कार आरोपमा तानिएका हुन् ।

उनलाई बलात्कार आरोप लगाउने महिला पहिलोपटक टेलिभिजनमा आएकी छन् । उनले गत मे १५ तारिखमा पेरिसको एक होटेलमा भएको घटनाबारे सार्वजनिक रूपमा बोलेकी छन् ।

नेइमारलाई बलात्कार आरोप लगाउने ती महिलाको नाम नाजिला त्रिन्दाजी हो । र, उनी पनि ब्राजिलकै हुन् । उनले गत शुक्रबार नेइमारविरुद्ध पेरिसको साउ पाओलो प्रहरीमा बलात्कार उजुरी दर्ता गराएकी थिइन् ।

ती महिलाले सुरुमा आफ्नो नाम गोप्य राख्दै नेइमारले आफूलाई नशाको सुरुमा बलात्कार गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन् । तर, अहिले आएर उनले नेइमारले आफूलाई कुटपितसमेत गरेको दाबी गरेकी छन् ।

आफूमाथि बलात्कार आरोप लागेपछि नेइमारले भने सो आरोपको खण्डन गर्दै आफ्नो बचाउका लागि सामाजिक सन्जाल हृवाट्सएपमा ती युवतीसँग भएको कुराकानीसमेत सार्वजनिक गरेका थिए ।

नेइमारले सामाजिक सन्जालमा भएको कुराकानी सार्वजनिक गरेपछि त्यसको जवाफस्वरूप त्रिन्दाजीले टेलिभिजनमा अन्तर्वार्ता दिएकी छन् । ब्राजिलको टिभी ‘एसबिटी ब्राजिल’सँग कुरा गर्दै ती युवतीले आफू नेइमारप्रति आकर्षित भएको र यौन सम्बन्ध राख्ने इच्छाले नै पेरिस पुगेको कुरा पनि सजिलै स्वीकारेकी छन् ।

त्यत्ति मात्रै हैन, उनले यो पनि बताएकी छन् कि– उनी नेइमारकै खर्चमा पेरिस पुगेकी थिइन् । तर, भेटेपछि भने नेइमारले आफूलाई गलत व्यवहार गरेको उनले उल्लेख गरेकी छन् ।

ती युवतीले आफू नेइमारसँग सहमतिमै यौन सम्पर्क राख्न राजी भएको बताएकी छन् । सोक्रममा उनले नेइमारलाई कण्डम प्रयोग गर्न अनुरोध गरिन् । तर, नेइमार त्यसका लागि तयार भएनन् । कण्डम प्रयोग नगरी आफू राजी नभएपछि नेइमारले आफूमाथि बलात्कार गरेको युवतीको दाबी छ ।

सोही अन्तर्वार्ताक्रमा युवतीले नेइमारले आफूमाथि बलात्कार मात्रै नभएर कुटपिटसमेत गरेको दाबी पनि गरेकी छन् । ‘खासमा त्यो कुटपिट र बलात्कार दुवै थियो, म दुवै हिसाबले पीडित भएँ,’ ती युवतीले भनेकी छन् ।

सोही घटनासँग सम्बन्धि एक भिडियो फुटेज अहिले चर्चामा छ । त्यो त्यही होटेलको कोठाको फुटेज हो, जहाँ नेइमार र युवतीलबसेका थिए । र, विवाद भएको थियो ।

सार्वजनिक भिडियोमा युवती त्रिन्दाजी र नेइमारबीच विवादसँगै हात हालाहालसमेत भएको देख्न सकिन्छ ।

यता, नेइमारले भने आफूमाथि लागेको बलात्कार आरोपको खण्डन गरे पनि युवतीमाथि कुटपिट के थियो भन्नेबारे पनि बोलेका छैनन् । नेइमारले आफ्ना सहयोगीमार्फत् एक विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको बलात्कार आरोपको खण्डन गरिसकेका छन् ।

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०४:३७
Loading...