बालोन डि‘ओर दाबेदारहरूको नयाँ सूची सार्वजनिक : मेस्सी कि भान डाइक ?

एजेन्सी, जेठ २४
युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा बलियो प्रतिस्पर्धी टिम इंग्ल्यान्डलाई हराउँदै फाइनल पुगेपछि नेदरल्यान्ड्सका स्टार डिफेन्डर भर्जिल भान डाइक सन् २०१९ को बालोन डि‘ओर अवार्डको दाबेदारहरूको सूचीमा सबैभन्दा अगाडि आएका छन् ।

आफ्नो टिमलाई युरोपको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधिनजिक लैजान महत्त्वपूर्ण भूमिका खेलेसँगै इंग्लिस क्लब लिभरपुलका खेलाडी भान डाइकले स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई पछि पार्दै शीर्ष स्थान लिएका हुन् ।

‘बुकमेकर्स’ ले २०१९ को बालोन डि‘ओर अवार्डका लागि दाबेदारहरूको ताजा सूची सार्वजनिक गरेको छ । जसमा भान डाइक सबैभन्दा सिरानमा छन् । सो संस्थाले फुटबल विशेषज्ञ तथा फुटबल फ्यानहरूको समेत मतका आधारमा सो सूची तयार पारेको हो ।

लिभरपुललाई च्याम्पियन्स लिग जिताउन तथा प्रिमियर लिगको प्रदर्शनलाई समेत आधार मानेर ‘बुकमेकर्स’ले भान डाइकलाई हालको अवस्थामा मेस्सीभन्दा प्रमुख दाबेदार मानेको छ । त्यसमा अघिल्लो दिन नेसन्स लिगमा पनि नेदरल्यान्ड्स फाइनल पुगेपछि भान डाइक बालोन डि‘ओरका लागि अझै बलियो दाबेदार भएको सो रिपोर्टमा उल्लेख छ ।

भान डाइकपछि दोस्रो नम्बरमा बार्सिलोनाका मेस्सी छन् । यसअघि भने मेस्सीलाई बालोन डिओरका लागि सबैभन्दा बलियो दाबेदार रहँदै आएका थिए ।

त्यसपछि तेस्रो नम्बरमा लिभरपुल तथा सेनेगलका साडियो माने छन् भने चौथोमा मोहमद सालाह रहेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँचौं नम्बरमा छन् ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार १५:४०
Loading...