‘मेस्सी कोपा अमेरिकामा असफल हुने खत्रा छ’

एजेन्सी, जेठ २४
जुन १४ बाट ब्राजिलमा हुने कोपा अमेरिका फुटबलमा अर्जेन्टिनालाई उपाधि दाबेदार टिम मानिएको छ । स्पेनिस बार्सिलोनाबाट खेल्ने लिओनल मेस्सीले कप्तानी गर्ने अर्जेन्टिना यसपटक जसरी पनि उपाधि जित्ने अभियानमा छ ।

तर, टोलीका प्रमुख खेलाडी मेस्सी भने यतिबेला चरम निराशामा छन् । बार्सिलोनाबाट भर्खरै सकिएको सिजनमा च्याम्पियन्स लिग र कोपा डेल रे कप हारेलगत्तै उनी राष्ट्रिय टिमको ड्युटीमा छन् । मेस्सी आफैंले पनि यतिबेला आफू मानसिक रूपमा दबाबमा रहेको बताएका छन् ।

यसैक्रममा अर्जेन्टिनाका पूर्वप्रशिक्षक अलेजान्ड्रो साबेल्लाले अनावश्यक दबाबका करण मेस्सी कोपा अमेरिकामा असफल हुने खत्रा बढी रहेको बताएका छन् । विगतमा अर्जेन्टिनालाई प्रशिक्षण दिएका उनी मेस्सीमाथि अहिले चर्को दबाब रहेको ठान्छन् ।

‘मेरो हिसाबमा मेस्सी यतिबेला साँच्चै दबाबमा छन् । बार्सिलोनामा जस्तो सिजन उनले बिताए, त्यसबाट उनी चरम निराशामा पनि छन्,’ साबेल्लाले भने, ‘मलाई लाग्छ, कोपामा मेस्सीलाई यसले ठूलो असर पुर्याउँछ ।’

साबेल्लाले मेस्सी अर्जेन्टिनाका प्रमुख खेलाडी भएकाले उनीमाथिको अनावश्यक दबाबले सिंगै टिमलाई समस्या हुने बताए । ‘टिमका प्रमुख गोलकर्ता खेलाडी र कप्तान यतिसम्म विचलित र निराश छन् भने उनले कोपाजस्तो ठूलो प्रतियोगितामा उच्च प्रदर्शन गर्न सक्दैनन्,’ साबेल्लाले थपे ।

साबेल्लाले त्यसै पनि मेस्सीमाथि अर्जेन्टिनी समर्थक तथा नागरिकको दबाब रहँदै आएको बताए । ‘थुप्रै अर्जेन्टिनीले मेस्सीको आलोचना गर्छन् । उनी अहिले पनि आलोचनकै घेरामा छन् । यसैबला उनले बार्सिलोनालाई ठूला उपाधि जिताउन सकेनन् । यी सबै कुराले मेस्सीमाथि दबाब छ,’ उनले भने, ‘मेस्सीले कोपामा उत्कृष्ट प्रदर्शन गर्नेमा मलाई शंका छ ।’

कोपा अमेरिकाजस्तो ठूलो प्रतियोगिता खेल्न खेलाडी सबै हिसाबले पूर्ण फिट हुनुपर्ने उनले बताए । ‘यदि मेस्सीले बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्न सकेका थिए भने उनी अर्कै अवस्थामा हुन्थे । तर, उनी अहिले सही समयमा छैनन,’ सेबेल्लाले थपे ।

साबेल्लाले मेस्सी दबाबमा खेल्न सक्ने खेलाडी नभएको पनि बताए । ‘सँगै काम गरेको अनुभवका आधारमा मेस्सी दबाबमा खेल्न सक्दैनन्, दबाबमा उनले टिमलाई नेतृत्व दिन सक्दैनन्,’ सेबेल्लाले भने, ‘यस्तो बेला प्रशिक्षकले मेस्सी र अन्य खेलाडीलाई सोचीसम्झी सही तरिकाले नेतृत्व गर्नुपर्छ ।’

साबेल्लाले यसपटक कोपामा ब्राजिल र उरुग्वे प्रमुख दाबेदार रहेको बताए । ‘मेरो विचारमा अर्जेन्टिना उपाधि जित्न सही समयमा छैन । यसपटक ब्राजिल र उरुग्वे प्रमुख दाबेदार टिम हुन्,’ साबेल्लाले थपे ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०६:५१
Loading...