बार्सिलोनालाई ठूलो झट्का लाग्दै, डि लिग्टलाई अरूले नै उछिट्याउँदै !

एजेन्सी, जेठ २४
स्पेनिस बार्सिलोनाले नयाँ सिजनका लागि डच क्लब आयाक्सका युवा डिफेन्डर डि लिग्ट भित्र्याउन ठूलै कसरत गरिरहेको छ । गत जनवरीमा सोही क्लबका डच खेलाडी फ्रेन्की डे जोङ अनुबन्ध गरिसकेको बार्सिलोना अहिले पनि डि लिग्ट भित्र्याउन सकिने आशामै छ ।

तर, पछिल्ला मिडिया रिपोर्टअनुसार बार्सिलोनालाई झट्का दिँदै फ्रेन्च क्लब पिएसजीले डि लिग्ट भित्र्याउने नजिक पुगेको छ । स्पेन र फ्रान्सका मिडियाले प्रमुखतासाथ यो खबर छापेका छन् ।

आयाक्सका कप्तानसमेत रहेका १९ वर्षीय डिफेन्डर भित्र्याउन पिएसजी धेरै नजिक पुगिसकेको खबरहरूमा उल्लेख छ । पिएसजीले डि लिग्टलाई बार्सिलोनाले दिनेभन्दा निकै आकर्षक सुविधा दिएर अनुबन्ध गर्ने तयारी गरेको छ ।

यता, पिएसजीले डि लिग्टका एजेन्टलाई पनि मागअनुसार रकम तिर्न सहमत भएको बताइएको छ । बार्सिलोनाले भने डि लिग्टका एजेन्टलाई कूल अनुबन्ध रकमको २० प्रतिशत कमिसन रकम तिर्न आनाकानी गर्दै आइरहेको छ ।

तर, पिएसजी यी सबै सर्तमा सहमत हुँदै बार्सिलोनाबाट डि लिग्ट खोस्ने लागिपरेको छ । यता, पछिल्लो साता डि लिग्ट भित्र्याउन इंग्लिस कलब म्यानचेस्टर युनाइटेडले पनि मोटो रकम अफर गरेको रिपोर्ट आएको थियो ।

डि लिग्ट भित्र्याउन बार्सिलोनाले यसअघि नै आयाक्सका अधिकारीसँग एकपटक छलफल गरिकसकेको छ । तर, बार्सिलोनाले डि लिग्टलाई दिने सुविधा र उनका एजेन्टलाई मागबमोजिम कमिसन तिर्न तयार देखिँदैन ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०६:००
Loading...