रोनाल्डो एकैपटक करिअरको दुई नयाँ कोसेढुंगा नजिक !

काठमाडौं, जेठ २४
पोर्चुगिज टोलीका कप्तानसमेत रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो एकैपटक करिअरको दुई नयाँ कोसेढुंगासामु पुगेका छन् । पछिल्लोपटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा सनसनीपूर्ण ह्याट्रिक गोल गरेका रोनाल्डोले चाँडै दुई महत्त्वपूर्ण रेकर्ड कायम गर्दैछन् ।

पहिलो, रोनाल्डोले नेसन्स लिगको सेमिफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेसँगै राष्ट्रिय टिमका लागि कूल गोल संख्या ८८ बनाएका छन् । जसमा सात ह्याट्रिकसमेत सामेल छ ।

रोनाल्डो अब राष्ट्रिय टिमका लागि १०० गोलबाट मात्रै १२ गोलले पछि छन् । उनले २ दिनपछि नेसन्स लिगको फाइनलमा नेदरल्यान्ड्स र त्यसपछि युरो कप छनौट खेल खेल्नेछन् ।

समकालीन फुटबलमा सक्रिय खेलाडीमध्ये रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता खेलाडी हुन् । खेलिरहेका खेलाडीमध्ये कूल ८८ गोलसहित उनी शीर्ष स्थानमा छ । उनीपछि भारतका कप्तान सुनील क्षेत्री ६८ गोलसहित दोस्रोमा छन् । त्यसपछि दोस्रोमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी ६५ गोलसहित छन् । हालको अवस्थामा मेस्सी रोनाल्डोभन्दा अन्तर्राष्ट्रिय गोलमा कूल २३ गोलले पछि छन् ।

दोस्रो, रोनाल्डो करिअरको ७००औं गोलको नयाँ रेकर्डसामु पुगेका छन् । देश र क्लबका लागि गरी उनले हालसम्म कूल ६८९ गोल गरिसकेका छन् । जसमा उसले ६०१ गोल क्लब र ८८ गोल देशका लागि गरेका छन् ।

३४ वर्षीय रोनाल्डो ७०० गोलबाट अब मात्रै ११ गोलले टाढा छन् । करिअरको ७०० गोल नजिक पुगेका रोनाल्डोले कूल ५३ ह्याट्रिक गरेका छन् ।

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०६:५२
Loading...