मैले चरम निराशाको विन्दुबाट सिजन टुंगाए : मेस्सी

एजेन्सी, जेठ २४
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफ्ना लागि सिजन २०१८/१९ समग्रमा निराशाजक रहेको बताए । अर्जेन्टिनी टोलीबाट कोपा अमेरिका फुटबलको तयारीमा रहेका मेस्सीले ‘टिवाईसी स्पोर्टस्’सँग कुरा गर्दै भर्खरै सकिएको सिजनबारे बोले ।

सन् २०१८ को विश्वकपपछि पहिलोपटक अफिसियल प्रतियोगितामा राष्ट्रिय टोलीमा फर्किएका मेस्सीले कोपा अमेरिकाबारे पनि बोलेका छन् ।

यस सिजन मेस्सीले बार्सिलोनाबाट कूल ४९ खेल खेल्दै ५१ गोल गरे । १९ गोलका लागि असिस्ट गरे । उनकै प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले ला लिगा जित्यो । तर, युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलमा भने नमिठो हार भोग्यो ।

च्याम्पियन्स लिगमा इंग्लिस टिम लिभरपुलसँग दोस्रो लेगमा ४–० ले पराजित भएर प्रतियोगिताबाट आउट भएको बार्सिलोना त्यसको दुई हप्तापछि नै कोपा डेल रे फुटबलको फाइनलमा लिग प्रतिस्पर्धी भ्यालेन्सियासँग फाइनलमा हारेको थियो ।

जसबाट मेस्सी निकै निराश छन् । कुनैबेला ट्रिबेल उपाधि दौडमा रहेको बार्सिलोना अन्तिम समयमा आएर ला लिगामै मात्रै सीमित हुँदा मेस्सीलगायत प्रमुख खेलाडीको प्रदर्शनमा ठूलो प्रश्न उठ्यो ।

‘मैले सिजन एकदमै थकित र निराशाजनक अवस्थामा सिध्याएँ । म जति शारीरिक रूपमा थाकें, त्योभन्दा बढी मानिसक रूपमा थाकें,’ मेस्सीले भने, ‘ती १५ दिनमा जे–जे भए, ती सपनाजस्तै दिन थिए ।’

मेस्सीले कुनै पनि वर्ष वा सिजन सफल बनाउन घरेलु लिग जितेर मात्रै नपुग्ने बताए । ‘तपाईं बार्सिलोनाजस्तो ठूलो क्लबबाट खेल्नुहुन्छ भने लिग जितेर मात्रै पुग्दैन । ठूला खेल र उपाधि नजित्दासम्म केही हुँदैन,’ मेस्सीले भने, ‘म यो मान्छु, हाम्रा लागि यो सिजन ज्यादै सामान्य मात्रै रह्यो ।’

मेस्सीले कोपा अमेरिकामा आफूहरू बलियो उपाधि दाबेदार टिम नभए पनि प्रतिस्पर्धी रहेको बताए । ‘कोपामा हामी उपाधिका लागि प्रबल दाबेदार टिम होइनौं । किनभने, हामी उत्कृष्ट समयमा छैनौं,’ मेस्सीले भने, ‘तर, हामी प्रतिस्र्धी हौं, उपाधि जित्न हामी प्रयास गर्नेछौं ।’

प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०३:४९
Loading...