नेसन्स लिग : इंग्ल्यान्डमाथि नेदरल्यान्ड्सको कमब्याक जित, पुग्यो फाइनलमा !

काठमाडौं, जेठ २४
नेदरल्यान्ड्स युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा डच टिमले इंग्ल्यान्डमाथि ३–१ को कमब्याक जित निकाल्दै उपाधिनजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको समयमा नेदरल्यान्ड्सले २ गोल गर्दै बाजी मार्न सफल भयो ।

त्यसअघि खेलको ३२औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । उसका लागि मार्कुस रासफोर्डले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

जिततर्फ अघि बढेको इंग्ल्यान्डलाई त्यत्तिबेला झट्का लाग्यो, जब ७३औं मिनेटमा युवा खेलाडी डि लिग्टले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए । उनको गोलपछि ९० मिनेटको खेल १–१ मा टुंगियो ।

तर, थप समयमा नेदरल्यान्ड्स भाग्यमानी साबित भयो । जहाँ उसले १ गोल उपहार पायो भने १ गोल आफूले थप्यो ।

खेलको ९७औं मिनेटमा इंग्ल्यान्डले आफ्नै गल्तीले आत्मघाती गोल खान पुग्यो । इंग्ल्यान्डका खेलाडीले पोस्ट नजिक बल छलाउनेक्रममा असफल भएपछि नेदरल्यान्ड्सका खेलाडी क्वीन्सी प्रोमेसले बल खोसेर हानेको प्रहार केले वाल्करलाई लाग्दै आफ्नै पोस्टमा छिरेपछि खेलमा नेदरल्यान्ड्सले २–१ को अग्रता लियो ।

त्यसपछि फेरि खेलको ११४औं मिनेटमा प्रोमेसले नै गोल गरेपछि खेल नेदरल्यान्ड्सले ३–१ ले जित्यो ।

यससँगै नेदरल्यान्ड्सले फाइनलमा पोर्चुगलसँग उपाधि भेट पक्का गरेको छ । पोर्चुगल अघिल्लो दिन स्वीट्जरल्यान्डलाई ३–१ ले हराएर पाइनल पुगेको थियो । फाइनल खेल आइतबार राति हुँदैछ । त्यसअघि तेस्रो स्थानका लागि आइतबारै सेमिफाइनलमा पराजित स्वीट्जरल्यान्ड र इंग्ल्यान्डको खेल हुनेछ ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार २१:२०
Loading...