‘बार्सिलोनाले मेस्सीका नाममा ठूलो गल्ती गर्दैछ’

एजेन्सी, जेठ २३
अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट लगातार खेलिरहेका छन् । क्लबका सर्वाधिक सफल र गोलकर्ता खेलाडी मेस्सी हाल ३१ वर्षका भए । सक्रिय रूपमा खेलाडीका रूपमा मैदानमा रहने उनको समय अब उति धेरै छैन ।

यही अस्थालाई ख्याल गर्दै पछिल्लो समय बार्सिलोनाले मेस्सीको उत्तराधिकारी खेलाडी खोज्नुपर्ने आवाज उठ्न थालेको छ । तर, उसले आजसम्म मेस्सीको विकल्पबारे सार्थक प्रयास गरेको छैन ।

बरु, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीले अझै ५/६ वर्ष सजिलै खेल्न सक्ने बताउँदै आएका छन् । केही समयअघि उनले भनेका थिए, ‘मेस्सी वान क्लब खेलाडी हुन् । उनले बार्सिलोनामा जहिलेसम्म चाहन्छन्, खेल्न सक्छन् । यदि उनी ४५ वर्षसम्म खेल्न चाहन्छन् भने क्लब तयार छ ।’

तर, बार्सिलोनाका पूर्वअध्यक्ष सान्ड्रो रोसेलले भने बार्सिलोनाले मेस्सीका नाममा गल्ती गरिरहेको बताएका छन् । स्पेनिस रेडियासँग कुरा गर्दै पूर्वअध्यक्षले बार्सिलोनाले मेस्सीको विकल्पबारे सोच्न ढिला गरिरहेको बताए ।

‘मेस्सी चाँडै ३२ वर्ष पुग्दैछन् । तर, क्लबले उनको उत्तराधिकारी खेलाडीबारे सोचेको मैले ठानेको छैन,’ रोसेलले भने, ‘मेरो हिसाबमा यो ढिलाइ भइरहेको छ ।’

सन् २०१० देखि २०१४ सम्म बार्सिलोनाका अध्यक्ष रहेका रोसेलले क्लबले अब मेस्सीको स्थान लिने युवा खेलाडी भित्र्याउन गम्भीर भएर लाग्नुपर्ने बताए । ‘बार्सिलोना अहिले पनि संघर्ष गरिरहेको छ । टोलीमा गोलकर्ता युवा खेलाडीको अभाव देखिन्छ । यो समस्या झनै बढ्ने म देख्छु,’ रोसेलले भने, ‘बार्सिलोनाले मेस्सीको गोल संख्या प्रतिस्थापन गर्न सक्ने नयाँ खेलाडी को–को छन् र को भित्र्याउन सकिन्छ भन्नेतर्फ सोच्न ढिलाइ गर्नु हुँदैन ।’

रोसेलले मेस्सीले सधैंभरि खेल्न नसक्ने भन्दै उनको सन्यासपछि क्लबको भविष्यबारे क्लबका अध्यक्षले योजना बनाउनुपर्ने बताए । ‘मेस्सीले एकदिन सन्यास लिन्छन् वा क्लब छाड्छन् । यो समय आउन अब धेरै समय बाँकी छैन,’ रोसेलले भने, ‘क्लबको भविष्यका लागि मेस्सीको विकल्प तयार पार्ने समय यही हो । तर, अहिले क्लब नेतृत्वले यस विषयमा गल्ती गरिरहेको छ ।’

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १५:४८
Loading...