मेस्सीले किन ‘अर्जेन्टिना कोपा अमेरिकाको उपाधि दाबेदार होइन’ भने ?

एजेन्सी, जेठ २३
अघिल्लो साता अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सीले एक अन्तर्वार्तामा भनेका थिए, ‘यसपटकको हाम्रो टिम मलाई मन परेको छ । टिममा युवा खेलाडी छन् । हामी कोपा अमेरिकाको उपाधि जित्न सक्छौं ।’

मेस्सीले यसो भनेको एक सातापछि अर्को अन्तर्वार्तामा कुरा गर्दै उनै मेस्सीले कोपा अमेरिकाबारे फरक धारणा राखेका छन् । जुन १४ बाट ब्राजिलमा हुने कोपाको तयारीमा रहेका मेस्सीले अघिल्लो दिन ‘टिवाईसी स्पोर्टस्’सँग विशेष अन्तर्वार्ता दिए ।

सोक्रममा मेस्सीले कोपा अमेरिकामा आफूहरू उपाधि दौडमा रहे पनि अर्जेन्टिना अन्य समयजस्तै ‘प्रबल दाबेदार’ टिम भने नरहेको बताए । ‘इमानदारसाथ भन्नुपर्दा कोपा अमेरिकामा हामी अन्य समयजस्तो यसपटक उपाधिका लागि बलियो दाबेदार छैनौं,’ मेस्सीले बुधबार अन्तर्वार्तामा भने ।

तर, मेस्सीले आफू र आफ्नो टिमसँग उपाधि जित्ने सपना भने रहेको बताए । ‘तर, हामीसँग जितको सपना छ । हामी उत्सािहत भएर ब्राजिल जानेछौं,’ मेस्सीले भने, ‘यद्यपि, वास्तविकता यो हो कि, अर्जेन्टिना यतिबेला परिवर्तनकोे प्रक्रियामा छ ।’

मेस्सीले आफूहरू विभिन्न समस्याका बावजुत पनि उपाधि जित्न संघर्ष गर्ने बताए । ‘सधैंझैं हामी यसपटक पनि उपाजित जित्न अथक प्रयास गर्नेछौं । हामीलाई यो उपाधिको महत्त्व थाहा छ,’ मेस्सीले भने ।

अर्जेन्टिनाले सन् १९९३ साल यता कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । त्यसमा पनि मेस्सीको नेतृत्वमा सिनियर टोलीले एउटा पनि उपाधि जित्न सकेको छैन ।

कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘बी’मा कोलम्बिया, पराग्वे र आगन्तुक टिम कतारको सापना गर्दैछ । ब्राजिलमा हुने सो प्रतियोगिता जुन १४ बाट जुलाई ७ सम्म चल्नेछ ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार १३:५५
Loading...