३५५ दिनपछि रोनाल्डोको फ्रि किक गोल !

एजेन्सी, जेठ २३
युइएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको सेमिफाइनल खेलमा पोर्चुगललाई फाइनल चरणमा लैजानेक्रममा क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गरे । उनले एक बुलेट फ्रि किक गोलसहित ह्याट्रिक हाने ।

गत राति पोर्चुगलमा भएको खेलमा रोनाल्डोको प्रेरणामा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै फाइनल पुग्यो । पोर्चुगललाई शानदार जितसहित फाइनल लैजान कप्तान रोनाल्डोले ‘पर्फेक्ट’ ह्याट्रिक गोल गरे ।

उनले खेलको २५औं मिनेटमा पहिलो गोल फ्रि किकबाट करिब ३० यार्ड दूरीबाट गरेका थिए । उनको कडा प्रहारले स्वीट्जरल्याडन्का गोलरक्षकलाई रमिते बनाउँदै जाली चुम्यो ।

त्यसपछि खेलको अन्तिम समयमा ३ मिनेटको बीचमा २ आकर्षक गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे । र, टिमलाई ३–१ को जित दिलाए ।

सो खेलमा गरेको फ्रि किक गोल रोनाल्डोले ३५५ दिनपछि गरेको पहिलो फ्रि किक गोल थियो । उनले गत वर्ष रसिया विश्वकपमा स्पेनविरुद्ध समूह चरणको पहिलो खेलमा सनसनीपूर्ण ह्याट्रिक गर्नेक्रममा तेस्रो गोल फ्रि किकबाट गरेका थिए ।

टिम हारका मुखमा पुगेका बेला रोनाल्डो लामो दूरीबाट गरेको सो फ्रि किक गोलको चर्चा अहिले पनि हुन्छ । सो गोलपछि रोनाल्डोले ४५ खेलसम्म फ्रि किकबाट गोल गर्न सकेका थिएनन् ।

तर, उनले स्पेनविरुद्ध फ्रि किक गोल गरेयता ठीक ३५५ दिनपछि उस्तै शानदार फ्रि किक गोल गरे । रोनाल्डोको करिअरमा फ्रि किक गोलको सबैभन्दा लामो खडेरी लागेको यो नै पहिलोपटक हो । उनले क्लब र देशका लागि गरी हालसम्म कूल ५४ गोल फ्रि किकबाट सोझै गरेका छन् ।

गत रातिको गोलसँगै रोनाल्डोले देशका लागि कूल ८८ गोल बनाएका छन् । करिअरमा कूल ५३ तथा पोर्चुगलका लागि सातौं ह्याट्रिक पनि पूरा गरेका छन् ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार ०६:२५
Loading...