मेस्सीका छोरा रियल मड्रिडका बिग फ्यान, आफ्नै बाबुको ‘ट्रोल’ गर्छन् !

एजेन्सी, जेठ २३
स्पेनिस बार्सिलोनाका कप्तानसेमत रहेका लिओनल मेस्सीका परिवारका कोही सदस्य रियल मड्रिडका फ्यान होलान् भन्ने कुरा कतिले कल्पना पनि गर्न सक्दैनन् । तर, मेस्सीका एक छोरा भने बार्सिलोनाको कट्टर प्रतिस्पर्धी क्लब रियलको कडा फ्यान हुन् ।

यो कुरा मेस्सी स्वयंले एक अन्तर्वार्तामा बताएका छन् । मेस्सीका ३ जना छोरा छन् । जसमा माइला छोरा मोटेओ मेस्सी भने रियलका कडा फ्यान हुन् ।

त्यत्ति मात्रै हैन, माटेओले बार्सिलोना हार्दा आफ्नै पिताको ट्रोलसमेत गर्ने गर्छन् । यो पनि मेस्सीले बताएका छन् ।

‘टिवाईसी स्पोर्टस्’ सँग कुरा गर्दै मेस्सीले आफ्ना छोराहरूको फुटबलप्रतिको क्रेजबारे बोलेका थिए । सोक्रममा उनले माइला छोरा सबैभन्दा फरक रहेको र उनी रियलको फ्यान भएको बताए ।

‘माटेओ फुटबललाई ज्यादै माया गर्छन् । उनी अहिले ३ वर्षका छन् । तर, उनी अन्य टिमका जर्सीसमेत लगाउँछन् ’ मेस्सीले भनेका छन् ।

मेस्सीले एक रमाइलो किस्सा सुनाए, ‘केही दिनअघि मात्रै एक साँझ हामी घरमै फुटबल खेलिरहेका थियौं । त्यसबेला माटेओले भने– म लिभरपुलको फ्यान । उनीहरूले तपाईंहरूलाई चुटे ।’

मेस्सीले अघि थपे, ‘हामी भ्यालेन्सियासँग कोपा डेल रे हार्दा पनि उनले मलाई जिस्काए । म हाँसें मात्रै । उनले मलाई व्यंग्य गर्दै भने– भ्यालेन्सियाले तपाईंहरूलाई चुटे । अब म भ्यालेन्सियाको फ्यान ।’

मेस्सीले आफ्नो छोरा रियल मड्रिडका ठूलो फ्यान भएको बताए । मेस्सीले अघि सुनाए, ‘हामी एकदिन रियल मड्रिडको खेल टिभीमा हेरिरहेका थियौं । जतिबेला मड्रिडले गोल हान्यो, उनी खुसीले रमाए । सेलिब्रेसन गरे । उनले केही दिनसम्म मड्रिडका जर्सी नै लगाए । छोराको खुसीका लागि थुप्रैपटक मड्रिडको गोल र जितमा म पनि खुसी भएको छु । छोराका लागि सेलिब्रेसन गरेको छु ।’

मेस्सीका अनुसार माटेओ बार्सिलोनाभन्दा बढी मड्रिडको खेल हेर्छन् । ‘उनी बार्सिलोनाभन्दा बढी मड्रिडको खेल हेर्न मन पराउँछन्,’ मेस्सीले भने ।

मेस्सीले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध हारेपछि आफू केही दिनसम्म गहिरो पीडामा परेको बताए । तर, माटेओले भने मेस्सीलाई ट्रोल हानिरहे । ‘लिभरपुलसँग हारेर फर्किएपछि उनले मलाई जिस्काइरहे । ‘म लिभरपुलबाट …. म रातो जर्सीवाला … भन्दै मलाई जिस्काइरहे । उनको त्यस्तो व्यवहारले हामी हाँसी मात्रै रहन्थ्यौं ।’

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार ०६:१९
Loading...