घाइते भएपछि नेइमारले रुँदै मैदान छाडे, कोपा अमेरिका गुमाउने खतरा !

एजेन्सी, जेठ २३
ब्राजिलका स्टार खेलाडी नेइमार फेरि घाइते भएका छन् । यससँगै उनले आफ्नो घरमा हुने दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका गुमाउने खतरा बढेको छ ।

नेपाली समयअनुसार बिहीबार बिहान कतारसँग भएको मैत्रीपूर्ण खेल दौरान नेइमार घाइते भएका हुन् । सो खेलमा नेइमार चोट बोकेर मैदान छाडेका थिए । भलै, सो खेल ब्राजिलले २–० ले जित्यो ।

नेइमारको खुट्टामा चोट लागेको छ । चोटपछि पनि खेल्न प्रयास गरेका उनी पछि कठिन भएपछि २१औं मिनेटमा रुँदै मैदान छाडेका थिए ।

पछिल्लो समय लगातार चोटको सिकार भइरहेका नेइमार यअसघि प्रशिक्षणक्रममा घाइते भएर तीन दिन टोलीबाहिर रहेका थिए । ठीक भएर मैदान फर्किए पनि उनले पुनः चोट बोके ।

हाल नेइमारको चोटबारे ब्राजिलका प्रशिक्षक टिटेले केही खुलाएका छैनन् । चेकजाँचपछि उनको चोटको अवस्था र उनले कोपा खेल्ने–नखेल्ने थाहा हुने बताए ।

जुन १४ बाट ब्राजिलमा हुने कोपामा ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । सो समूहमा ब्राजिल समूह ‘ए’ मा छ । सो समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् ।

प्रकाशित मिति २३ जेष्ठ २०७६, बिहीबार ०३:४८
Loading...