युइएफए नेसन्स लिग : रोनाल्डोले ह्याट्रिक हानेपछि पोर्चुगल फाइनलमा !

काठमाडौं, जेठ २३
सुपरस्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण ह्याट्रिक हानेपछि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान पोर्चुगलमा भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ३–१ को जित निकाल्दै उपाधिनजिक पुगेको हो ।

चार खेलपछि राष्ट्रिय टिमका लागि गोल गर्नेक्रममा रोनाल्डोले स्वीट्जरल्यान्डविरुद्ध एक दर्शनीय फ्रि किक गोलसहित ३ गोल गरे । उनले यस खेलमा गरेका ३ वटै गोल शानदार थिए ।

खेलको पहिलो हाफमा पोर्चुगलले १–० को अग्रता लियो । खेलको २५औं मिनेटमा रोनाल्डोले करिब ३० यार्ड टाढाबाट हानेको बुलेट फ्रि किक गोलले सोझै जाली चुम्यो । उनको फ्रि किक गोल रोक्न तयार स्वीट्जरल्यान्डका गोलरक्षकले रोनाल्डोले लामो दूरीबाट हानेको शक्तिशाली प्रहार कताबाट आयो भनेर भेउसम्म पाएनन् ।

त्यसपछि खेलको ५७औं मिनेमा स्वीट्जरल्यान्डले पेनाल्टी पायो । पोर्चुगलका डिफेन्डर पेपेले बक्समा ह्यान्ड बल गरेपछि भिएआरबाट दिइएको पेनाल्टीमा स्वीट्जरल्यान्डका लागि रिकार्डो रोड्रिग्वेजले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि खेल थप समयतर्फ उन्मुख रहेका बेला रोनाल्डोले अन्तिम ३ मिनेटको बीचमा २ गोल हानेपछि पोर्चुगलले खेल जित्यो । खेलको ८८औं मिनेटमा रोनाल्डोले बर्नान्डो सिल्भाको कठिन पासमा वान टचमै आकर्षक गोल गरेका थिए ।

फेरि त्यसको २ मिनेटपछि नै स्वीट्जरल्यान्डका ३ जना डिफेन्डरलाई छलाउँदै कडा प्रहारमा बललाई जाली चुमाएसँगै रोनाल्डोले करिअरको ५३ औं ह्याट्रिक पूरा गरे भने टिमलाई ३–१ को जित दिलाए ।

यससँगै पोर्चुगल नेसन्स लिगको उपाधिनजिक पुगेको छ । उसले अब बिहीबार नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच हुने अर्को सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ ।

यस खेलको ३ गोलसँगै रोनाल्डोले आफ्नो करिअरको अन्तर्राष्ट्रिय गोल संख्या ८८ पुर्याएका छन् भने ह्याट्रिक संख्या देशका लागि ७ बनाएका छन् । समग्रमा उनको ह्याट्रिक संख्या ५३ पुगेको छ । त्यसैगरी, रोनाल्डोले यसै खेलबाट विभिन्न ३८ देशविरुद्ध गोल गर्ने खेलाडीको रेकर्डसमेत बनाएका छन् ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार २०:३९
Loading...