एजेन्सी, जेठ २२
जर्मन क्लब बार्यन म्युनिखले अफिसियल रूपमा लोनका खेलाडी हामेस रोड्रिग्वेजलाई रियल मड्रिड फिर्ता पठाउने पुष्टि गरेको छ । बार्यनले आज एक विज्ञप्ति जारी गर्दै कोलम्बियन खेलाडीलाई उनको क्लब रियल नै पठाउने निर्णय गरेको हो ।
बार्यनले रोड्रिग्वेजलाई दुई वर्षअघि रियलबाट लोनमा भित्र्याएको थियो । सम्झौताअनुसार लोनमा भित्र्याएका खेलाडीले दुई सिजन पूरा गरेपछि बार्यनले रोड्रिग्वेजलाई फिर्ता पठाउने भएको हो ।
२७ वर्षीय रोड्रिग्वेज त्यसबेला रियलमा प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा पर्न नसकेपछि बार्यन पुगेका थिए । तर, बार्यनमा दुई सिजन बिताउनेक्रममा पछिल्लो समय प्रशिक्षको रोजााइमा पर्न नसकेपछि उनी निराश थिए ।
रियल फर्किने भएसँगै अब रोड्रिग्वेजको भविष्य कता जाने भन्ने चासो बढेको छ । किनभने, रियल फर्किए पनि त्यहाँ हाल पूर्वप्रशिक्षक जिदान नै प्रशिक्षक रहेकाले उनको भविष्य फेरि पनि बेर्नाबेउमा सुरक्षित देखिँदैन ।
यसअघि इटालियन क्लब युभेन्टसले रोड्रिग्वेज अनुबन्ध गर्न चासो देखाएको थियो । क्रिस्टियानो रोनाल्डोको अनुरोधमा युभेन्टसले प्ले मेकर खेलाडी रोड्रिग्वेजलाई अनुबन्ध गर्न चाहेको बताइन्छ ।
रियलमा छँदा रोनाल्डोसँग राम्रो सम्बन्ध बनाएका रोड्रिग्वेज पनि रोनाल्डोसँग खेल्न इच्छुक रहेको बताइन्छ ।
बार्यनमा दुई सिजन बिताएका रोड्रिग्वेजले कूल ४३ खेलबाट १४ गोल गरे । त्यसअघि उनले रियलका लागि ७७ खेलबाट २८ गोल गरेका थिए । उनी सन् २०१४ मा रियलमा अनुबन्ध भएका थिए ।
प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार १४:५१