यी तीन खेलाडी जसलाई मेस्सी कहिल्यै बार्सिलोनामा चाहँदैनन् !

एजेन्सी, जेठ २२
स्पेनिस बार्सिलोनाका प्रमुख खेलाडी तथा हालका कप्तान लिओनल मेस्सीले टोलीमा ठूलो प्रभाव राख्छन् । क्लबका सर्वाधिक सफल र प्रमुख खेलाडी भएकाले पनि टिम निर्माणदेखि लिएर खेलाडी किनबेचसम्मका सबालमा मेस्सीको पनि महत्त्वपूर्ण भूमिका रहने गर्छ ।

विगतमा पनि पटक–पटक खेलाडी किनबेच र सरुवाका विषयमा मेस्सीको व्यक्तिगत इच्छा र अनिच्छाले पनि काम गरेको छ । पछिल्लो अवस्था हेर्दा बार्सिलोना फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यान भित्र्याउने पक्षमा छ ।

तर, कप्तान मेस्सी भने ग्रीजम्यानको पक्षमा छैनन् । मेस्सीकै कारण बार्सिलोनाले ग्रीजम्यान अनुबन्धको घोषणा गर्न नसकिरहेको मिडिया रिपोर्टहरू आइरहेका छन् ।

विभिन्न समयका मिडिया रिपोर्टअनुसार मेस्सी बार्सिलोनामा तीन खेलाडी भित्रिएको हेर्न चाहँदैनन् । जसमा आफ्नै देशका सहकर्मीसमेत पर्छन् ।

ग्रीजम्यानलाई नो इन्ट्री !

बार्सिलोना जान एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका विश्वकप विजेता खेलाडी एन्टोनी ग्रीजम्यानलाई भित्र्याउने कुरामा मेस्सी व्यक्तिगत रूपमा कहिल्यै सहमत नहुने बताइन्छ ।

यसको पछाडि ग्रीजम्यानको खेल शैली र व्यक्तिगत स्वभाव कारण रहेको बताइन्छ । मेस्सीको नजरमा ग्रीजम्यान बार्सिलोनाका लागि फिट खेलाडी होइनन् । उनी जसरी खेल्छन्, त्यो बार्सिलोनाको शैलीसँग नमिल्ने मेस्सी ठान्छन् । तसर्थ, ग्रीजम्यान बार्सिलोना भित्रिए त्यो क्लबका लागि समाधानभन्दा बढी समस्या हुने मेस्सी ठान्छन् ।

अर्को करण भनेको मेस्सीले ग्रीजम्यानको व्यक्तिगत स्वभाव मन नपराउने बताइन्छ । जसका कारण व्यक्तिगत रूपमा भावना नमिल्ने भएकाले मेस्सी ग्रीजम्यानसँग खेल्न चाहँदैनन् ।

ओजिललाई मन पराउँदैनन् मेस्सी

सन् २०१७ मा बार्सिलोना संकटमा थियो । त्यसबेला नेइमारले भर्खरै क्लब छाडेका थिए । त्यसबेला बार्सिलोनाको आक्रमण लाइनमा समस्या थियो । त्यसबेला बार्सिलोनाका अध्यक्षले जर्मन खेलाडी भित्र्याउन चाहेका थिए ।

तर, त्यसबेला मेस्सीले सहमति दिएनन् । मेस्सी त्यस्ता खेलाडीसँग खेल्न चाहन्थे, जसलाई उनी राम्रोसँग जान्दछन् । आउने खेलाडीले पनि उनलाई बुझ्छन् । तर, मेस्सीले व्यक्तिगत रूपमा ओजिललाई मन पराउँदैनन् । त्यसबेला मेस्सीले अर्जेन्टिनी एन्जल डि मारिया भित्र्याउन सुझाव दिएका थिए । तर, क्लबले त्यसलाई सही ठानेन ।

माउरो इकार्डीसँग व्यक्तिगत टकराव !

कतिलाई यो थाहा नहुन सक्छ कि, अर्जेन्टिनी टोलीमा मेस्सी र माउरो इकार्डीसँग राम्रो सम्बन्ध छैन । मेस्सीकै कारण रसिया विश्वकपमा पनि इकार्डी टोलीमा परेनन् । त्यसबेला मेस्सीकै कारण इकार्डी टोलीमा नपरहेको चर्चा थियो ।

त्यत्ति मात्रै हैन, यसै महिनाबाट ब्राजिलमा हुने कोपा अमेरिका फुटबलमा पनि इकार्डी अर्जेन्टिनाको टोलीमा छैनन् । यसपटक मेस्सीकै दबाबमा प्रशिक्षक स्कालोनीले इकार्डीलाई ठूलो प्रतियोगिताको टोलीमा नराखेको बताइन्छ ।

हाल इटालियन क्लब इन्टर मिलानबाट प्रमुख फरवार्डका रूपमा खेलिरहेका इकार्डीसँग मेस्सी व्यक्तिगत सम्बन्धकै करण सँगै खेल्न चाहँदैनन् । इकार्डीसँगको सम्बन्ध बिग्रनुमा उनीहरूबीच व्यक्तिगत कारण रहेको बताइन्छ ।

यसकारण पनि मेस्सी हुँदासम्म इकार्डीलाई बार्सिलोनाले भित्र्याउने सम्भावना छैन । यता, अर्जेन्टिनी टोलीबाट पनि मेस्सीले कप्तानी नछाड्दा वा सन्यास नलिँदासम्म मेस्सीसहितका ठूला खेलमा इकार्डी पर्ने सम्भावना लगभग देखिँदैन ।

रसिया विश्वकपताका मेस्सीसँगको टकरावकै कारण इकार्डी टोलीमा नपरेपछि कतिपयले मेस्सीको आलोचना गरेका थिए । यसपटक कोपा अमेरिकाको सबालमा पनि उही अवस्था दोहोरिएको छ ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार १४:२०
Loading...