‘रोनाल्डो विश्वकै नम्बर वान खेलाडी हुन्’

एजेन्सी, जेठ २२
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व तथा पोर्चुगलको राष्ट्रिय टोलीका खेलाडी नानीले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई विश्वकै नम्बर वान खेलाडी भनेका छन् । समकालीन फुटबलमा रोनाल्डोले पाएका सफलता र रेकर्डले उनलाई सर्वोत्कृष्ट फुबलरका रूपमा साबित गरिसकेको नानीले बताए ।

रोनाल्डो गत वर्ष स्पेनिस रियल मड्रिडबाट इटालियन युभेन्टसमा अनुबन्ध भएका थिए । इटालीमा पहिलो सिजन उपाधिका हिसाबले सन्तोषजनक बिताए पनि उनले डब्यु सिजनमा विगत वर्षजस्तो धरै गोल गर्न सकेनन् ।

तर, इटालियन फुटबल रोनाल्डोको उपस्थितिपछि पुनः एकपटक ब्युँझियो । त्यत्ति मात्रै हैन, युभेन्टसलाई आठौंपटक कीर्तिमानी घरेलु लिग जिताउन पनि रोनाल्डोले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरे ।

यी सबैका बावजुत पनि रोनाल्डोले सफल सिजन बिताएको नानी बताउँछन् । हाल एमएलएस क्लब ओरलान्डो सिटीबाट खेलिरहेका नानीले एक अन्तर्वार्तामा बोल्दै आफ्ना सहकर्मीको तारिफ गरेका छन् ।

‘मेरो निचोडमा रोनाल्डो समकाीलन फुटबलका नम्बर वान खेलाडी हुन्, यसमा कुनै शंका छैन,’ नानीले भने, ‘डेब्यु सिजन उनले युभेन्टसमा कम गोल गरे पनि उनले सफल सिजन बिताए ।’

नानीले जस्तोसुकै फरवार्डलाई पनि इटालीमा गोल गर्न ज्यादै कठिन हुने बताए । ‘फरवार्डका लागि इटालियन लिग सबैभन्दा कठिन लिग हो, यहाँ गोल गर्न ज्यादै कठिन हुन्छ,’ नानीले भने, ‘रोनाल्डोलाई पनि पहिलो सिजन त्यस्तै भयो । तर, मलाई विश्वसा छ, नयाँ सिजनमा उनले पर्याप्त गोल गर्नेछन् ।’

यस सिजन रोनाल्डोले युभेन्टसका लागि कूल ४३ खेल खेल्दै २८ गोल गरे भने १३ गोलका लागि असिस्ट गरे । उनले पहिलो सिजन घरेलु लिग सिरी ‘ए’ र सुपरकोपा इटालियाको अवार्ड जिते ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार १२:३७
Loading...