बार्सिलोनाले राम्रो खेलेर लिग जितेको होइन, अर्को सिजन उसलाई हामी हेर्छौं : मोड्रिक

एजेन्सी, जेठ २२
सिजन २०१८/१९ स्पेनिस रियल मड्रिडका लागि सबै हिसाबले खराब रह्यो । सुपरस्टार क्रिस्टियानो रोनाल्डो हिँडेपछिको पहिलो सिजन रियल ला लिगामा बार्सिलोनासँग १९ अंकले पछि रह्यो भने युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भयो । कोपा डेल रे फुटबलमा पनि ऊ निरीह साबित भयो ।

तर, नयाँ सिजनमा रियल पुनः आफ्नो उत्कृष्ट लयमा फर्किने दाबी रियलका बालोन डि‘ओरविजेता खेलाडी लुका मोड्रिकले गरेका छन् । सन् २०१८ मा बार्सिलोनाका मेस्सी र आफ्ना पूर्वसहकर्मी रोनाल्डोलाई पछि पार्दै बालोन डि‘ओर जितेका उनले हालसालै देश क्रोएसियाबाट ‘क्रोएसियन प्लेयर अफ् द सिजन’ अवार्ड जिते ।

लगातार सातौं वर्ष पनि यो अवार्डमा बाजी मारेका उनले त्यसपछि एक अन्तर्वार्तामा बोल्दै रियल नयाँ सिजनमा नयाँ ढंगले आउने बताए । भर्खरै सकिएको सिजन आफूहरूका लागि बिर्सनलायक सिजन रहेको स्वीकार्दै उनले रियल नयाँ सिजनमा सबैखाले प्रतियोगितामा उपाधि दाबेदार रहने बताए ।

‘यो सिजन हाम्रा लागि एकदमै बिर्सनलायक रह्यो । हामीले खराब सिजन बितायौं,’ मोड्रिकले भने, ‘तर, अर्को सिजन रियल पुरानै लयमा आउँछ । हामी फेरि बलियो भएर आउँछौं । ’

मोड्रिकले अर्को सिजन बार्सिलोनासँग सबै उपाधिका लागि लड्ने बताए । ‘हामी यसपटक १९ अंकले पछि रह्यौं । यो सामान्य अन्तर होइन,’ मोड्रिकले भने, ‘तर, नयाँ सिजन बार्सिलोनासँग सबै उपाधिका लागि हाम्रो प्रतिस्पर्धा हुन्छ । उसलाई हामी हेर्छौं ।’

२०१८ मा मोड्रिकले बालोन डि‘ओर अवार्ड जित्दा रोनाल्डो दोस्रो थिए भने मेस्सी मुस्किलले पाँचौंमा मात्रै थिए ।

यस सिजन बार्सिलोनाले उत्कृष्ट खेलेर ला लिगा जितेको नभई अन्य टिमले खराब प्रदर्शन गर्दा उसले जितेको बताए । ‘बार्सिलोनाले लिग जित्दा उसले कस्तो प्रदर्शन गरेको थियो भन्ने सबैलाई थाहा छ,’ मोड्रिकले भने, ‘अन्य बलिया टिम लयमा नहुनु उसका लागि फाइदा भयो ।’

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार ०७:२८
Loading...