युइएफए नेसन्स लिग : आज सेमिफाइनलमा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

काठमाडौं, जेठ २२
युरोपियन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युइएफए नेसन्स लिगअन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । युरोपमा हुने मैत्रीपूर्ण खेलहरूलाई एकत्रित गरी सञ्चालन गरिएको यस प्रतियोगिता गत वर्षबाटै सुरु भएको हो ।

सन् २०१९ को नोभेम्बर महिनामा अघिल्लो चरणका खेल सकिएपछि अन्तिम चारमा पुग्ने चार टोलीको टुंगो लागेको थियो । जसमा पोर्चुगल, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका थिए ।

आज हुने पहिलो सेमिफाइनल खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दैछन् । आजको खेलको विजेता फाइनल पुग्ने पहिलो टिम बन्नेछ ।

अर्को खेलमा अर्को दिन नेदरल्यान्ड्स र इंग्ल्यान्ड भिड्नेछन् । सो खेलपछि फाइनल पुग्ने दुवै टिमको टुंगो लाग्नेछ ।

आज पोर्चुगल र स्वीट्जरल्यान्डबीच हुने खेल पोर्चुगलको पोर्टोस्थित इस्टाडिओ डो ड्रागाओ रंगशालामा नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुँदैछ ।

आज पोर्चुगलको टिममा कप्तान रोनाल्डोसहित अधिकांश पहिलो रोजाइका खेलाडी टोलीमा हुनेछन् । सन् २०१८ को विश्वकपपछि रोनाल्डो पोर्चुगलका लागि दोस्रो खेल खेल्दैछन् । यसअघि उनले युरो कप छनौटअन्तर्गत एक खेल खेले पनि त्यसबेला घाइते भएका थिए ।

यस प्रतियोगितामा पोर्चुगलाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । सन् २०१६ मा युरो कप जितेका रोनाल्डो यसपटक देशका लागि अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जिताउने अभियानमा छन् ।

कप्तान रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले कूल ८५ गोल गरेका छन् ।

प्रकाशित मिति २२ जेष्ठ २०७६, बुधबार ०६:४४
Loading...