बार्सिलोनालाई झट्का : पिएसजीले भन्यो– ‘नेइमार बिक्रीमा छैनन्’

एजेन्सी, जेठ २१
आफ्ना पूर्वस्टार खेलाडी नेइमार भित्र्याउने योजनामा रहेको स्पेनिस बार्सिलोनालाई ठूलो झट्का लागेको छ । यो सिजन युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोना एक स्टार फरवार्ड भित्र्याउने दौडमा थियो ।

क्लबले फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउन इच्छा देखाए पनि कप्तान लिओनल मेस्सीलगायत प्रमुख खेलाडीले नेइमार फर्काउनुपर्नेमा जोड दिएपछि क्लबले त्यसतर्फ कसरत थालेको थियो ।

तर, क्लब पिएसजीले भने नेइमार बिक्रीका खेलाडी नभएको भन्दै बार्सिलोनालाई झट्का दिएको छ । बार्सिलेनाका अधिकारीले नेइमार फर्काउन पिएसजीका अधिकारीसँग छलफल चलाएपछि पिएसजीका अध्यक्षले नेइमार अर्को सिजन पनि पेरिसमै रहने पुष्टि गरे ।

आज एक कार्यक्रममा बोल्दै पिएसजीका अध्यक्ष नासिर बिन अल खिलाफीले नेइमार नबेच्ने प्रष्ट पारे । ‘हामी यो प्रष्ट पार्न चाहन्छौं कि, नेइमार बिक्रीमा छैनन् । उनी अर्को सिजन पनि यहीं रहनेछन् ।’

उनले अघि थपे, ‘नेइमार हाम्रा प्रमुख खेलाडी हुन् । उनी हामीलाई आवश्यक छ । र, उनीबिना हामी अघि बढन्न सक्दैनौं ।’

बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा नेइमार किनेदेखि नै बार्सिलोना र पिएसजीको सम्बन्ध राम्रो बन्न सकेको छैन । जसको असर अब खेलाडी किनबेचमा पर्ने देखिन्छ । अहिले नेइमारको विषयमा पनि सोही कारण रहेको जानकारहरू बताउँछन् ।

सिजन २०१७ मा नेइमार अप्रत्यासित रूपमा बार्सिलोना छाडेर फ्रेन्च क्लबमा अनुबन्ध भएका थिए । नेइमारले बार्सिलोना छाड्ने निर्णय गर्दा बािर्सलोनाका फ्यानहरूको ठूलो हिस्साले चर्को असन्तुष्टि जनाएका थिए ।

सन् २०१५ पछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग जित्न सकेको छैन । टोलीमा स्टार गोलकर्ता खेलाडी नहुँदा बार्सिलोना लगातार च्याम्पियन्स लिगबाट आउट हुँदै आएको छ ।

यही अवस्थाको अन्त्य गर्न उसले गत सिजनबाटै एथ्लेटिको मड्रिडका ग्रीजम्यान भित्र्याउन चाहेको थियो । सिजनको अन्त्यसँगै ग्रीजम्यानले क्लब छाड्ने घोषणा गरेर बार्सिलोना जाने ढोका खुला गरे पनि बार्सिलोनाका केही खेलाडीको असन्तुष्टिले क्लबले उनलाई अनुबन्ध गर्न नसकिरहेको रिपोर्टहरू आइरहेका छन् ।

पछिल्लो समय मेस्सीसहितका केही खेलाडीले पनि ग्रीजम्यानभन्दा नेइमार नै फर्काउन क्लबलाई सुझाव दिएपछि बार्सिलोना त्यसतर्फ लागेको थियो । तर, बार्सिलोनाको नेइमार फर्काउने योजना पिएसजीले पूरा हुन नदिने भएको छ ।

यता, नेइमार भित्र्याउन स्पेनिस रियल मड्रिड पनि लागिपरेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई अझै पनि उच्च प्राथमिकतामा राखेको बताइन्छ । तर, पिएसजीले नेइमार नबेच्ने भनेसँगै रियललाई पनि झट्का लाग्ने भएको छ ।

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार १५:४१
Loading...