बार्सिलोनालाई पछि पार्दै रियल मड्रिडले लुका जोभिक भित्र्यायो

एजेन्सी, जेठ २१
स्पेनिस रियल मड्रिडले नयाँ खेलाडी अनुबन्ध गरेको छ । उसले जर्मन क्लब फ्रान्कफुर्टका सर्बियन युवा फरवार्ड लुका जोभिकलाई आज अनुबन्ध गरेको हो ।

क्लब फ्रान्कफुर्टलले आफ्नो अफिसियल वेबसाइटबाट आफ्ना खेलाडी रियलले अनुबन्ध गरेको पुष्टि गरेको छ ।

सर्बियाका २१ वर्षीय युवा खेलाडी जोभिकलाई रियलले आगामी ६ वर्षका लागि सम्झौता गरेको पनि फ्रान्कफुर्टले जनाएको छ ।

यता, रियलले पनि नयाँ खेलाडी अनुबन्ध गरेको पुष्टि गरेको छ । उसले आगामी मंगलबार जोभिकलाई घरेलु रंगशालामा सार्वजनिक गर्ने जनाएको छ । रियलले जोभिकका लागि ७० मिलियन युरो खर्चेको बताइएको छ ।

जोभिकलाई यसअघि बार्सिलोनाले पनि ताकेको थियो । तर, बार्सिलोनालाई पछि पार्दै रियलले युवा गोलकर्ता खेलाडी भित्र्याएको हो ।

जारी सिजन जोभिकले फ्रान्कफुर्टका लागि कूल ४५ खेल खेल्दै २७ गोल गरे भने १० गोलका लागि असिस्ट गरेका छन् ।

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार ११:५९
Loading...