‘रोनाल्डो मेस्सीभन्दा धेरै राम्रा कप्तान हुन्’

एजेन्सी, जेठ २१
विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीच को उत्कृष्ट भन्नेमा अझै पनि चर्को मतभेद छ । कतिले रोनाल्डोलाई उत्कृष्ट मान्छन् भने कतिले मेस्सीलाई ।

अझ कतिपय लिजेन्ड र फुटबलका विशेषज्ञहरूले नै मेस्सीलाई कमजोर कप्तान मान्छन् भने रोनाल्डोलाई निकै राम्रा कप्तान मान्ने गर्छन् । केही समयअघि अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोनाले पनि मेस्सीलाई ‘खेलअघि नर्भस भएर २० पटकसम्म बाथरुम जाने कप्तान’ भनेर आलोचना गरेका थिए ।

यसैक्रममा इटालियन क्बल युभेन्टसका पूर्वडिफेन्डर एन्टोनियो क्याब्रिनीले रोनाल्डो मेस्सीभन्दा निकै राम्रा कप्तान भएको बताएका छन् । यहाँसम्मको अवस्था हेर्दा रोनाल्डोले आफूलाई सफल कप्तानका रूपमा साबित गरेको उनले बताए ।

‘मेरो विचारमा रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ क्याब्रिनीले एक अन्तर्वार्तामा भनेका छन् ।

उनले अघि थपे, ‘अवश्य पनि, १० वर्षदेखि विश्व फुटबल रोनाल्डो र मेस्सीमाथि केन्द्रित छ । फुटबलमा यस्तो समय फेरि नदोहोरिन सक्छ ।’

उनले मैदानको नेतृत्वका हिसाबले रोनाल्डो मेस्सीभन्दा निकै माथि रहेको बताए । ‘मेरो व्यक्तिगत विचारमा नेतृत्वका हिसाबले रोनाल्डो मेस्सीभन्दा राम्रा खेलाडी हुन् । रोनाल्डोले आफूलाई मैदानमा थुप्रैपटक साबित गरेका छन्,’ क्याब्रिीनले भने, ‘उनले थुप्रै अवसरमा आफूलाई प्रमाणित गरेका छन् । उनी मैदानभित्र र बाहिरका पनि एक नेता हुन् ।’

क्याब्रिनीले यो बताएका छन् कि, मेस्सी सामान्य स्तरका कप्तान हुन् । ‘मेस्सी उत्कृष्टमध्येका एक खेलाडी हुन् । तर, उनीमा नेता खेलाडीको गुण छैन,’ क्याब्रिनीले थपे ।

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार १०:५८
Loading...