बार्सिलोनामा नेइमार कि ग्रीजम्यान ? क्लब एकातिर, कप्तान अर्कातिर !

एजेन्सी, जेठ २१
स्पेनिस बार्सिलोनाले फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यान अनुबन्ध गर्ने चर्चा गत सिजनदेखिकै हो । तर, यसपटक भने उसले विश्वकपविजेता खेलाडी अनुबन्ध गर्ने तयारी गरेको चर्चा सरुवा बजारमा छ ।

तर, बार्सिलोनाका कप्तान लिओनल मेस्सीसहित केही प्रमुख खेलाडीले ग्रीजम्यानलाई नचाहेकाले बार्सिलोनाले ग्रीजम्यान अनुबन्धको घोषणा गर्न सकेको छैन । ग्रीजम्यानले सिजन सकिएसँगै क्लब एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरिसकेका छन् ।

स्पेनिस मिडिया ‘एएस’ र ‘मुन्डो डेपोर्टिभो’का अनुसार ग्रीजम्यान भित्र्याउने विषयमा क्लबको व्यवस्थापन पक्ष र कप्तान लिओनल मेस्सीसहित प्रमुख खेलाडीबीच मतभेद देखिएको छ । क्लब ग्रीजम्यान भित्र्याउने पक्षमा छ भने भने मेस्सीले ग्रीजम्यानभन्दा पूर्वखेलाडी नेइमार फर्काउनु उचित हुने सुझाव क्लबलाई दिएका छन् ।

खबरअनुसार मेस्सीले ग्रीजम्यान बार्सिलोनामा अनुबन्ध भएको हेर्न चाहेका छैनन् । उनले यदि क्लबले स्टार खेलाडी नै भित्र्याउने भए पूर्वखेलाडी नेइमार सबैभन्दा उत्तम हुने भन्दै त्यसतर्फ लाग्नुपर्ने बताएका छन् ।

हालसालै मेस्सीले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र खेल निर्देश पेप सुगरासँग सम्पर्क गरी क्लबका लागि नेइमार बसैभन्दा उत्तम विकल्प हुने बताउँदै पहिला त्यसतर्फ प्रयास गर्न सुझाव दिएका छन् ।

यदि नेइमार फर्काउन नसकिने अवस्था भए अन्य युवा खेलाडीका लागि विकल्प सोच्नुपर्नेमा मेस्सीले जोड दिएका छन् । ३ दिनअघि एक अन्तर्वार्ताक्रममा बोल्दै मेस्सीले नेइमार फर्किन सक्ने संकेत गरेका थिए ।

नेइमार २ वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी गएका थिए । अहिले नेइमार र मेस्सी दुवै राष्ट्रिय टिममबाट कोपा अमेरिकामा व्यस्त छन् ।

प्रकाशित मिति २१ जेष्ठ २०७६, मंगलवार ०५:०६
Loading...