‘रोनाल्डोजस्तो खेलाडी मैले देखेको छैन’

एजेन्सी, जेठ २०
गत वर्ष पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो ३३ वर्षको उमेरमा स्पेनिस रियल मड्रिड छाडेर इटालियन युभेन्टस गए । उनी रियलको इतिहासमा सर्वाधिक सफल खेलाडी मात्रै थिएनन्, क्लबले बेचेकामध्ये सर्वाधिक महँगा खेलाडी पनि हुन् ।

३३ वर्षीय खेलाडीलाई रियलले ११६ मिलियन युरोमा बेच्नु सरुवा बजारका लागि सामान्य कुरा थिएन । यो सबैको कारण उनको फिटनेस र जितको भोक थियो । अर्थात्, ३३ वर्षीय खेलाडीलाई युरोपको कुनै ठूलो ११६ मिलियनमा भित्र्याउँछ भने पक्कै पनि ती खेलाडी खास छन् ।

यो कुरालाई पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले निकै जोड दिएका छन् । अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै उनले रोनाल्डोजस्तो फिट, पूर्ण फरवार्ड र नेता खेलाडी आफूले नदेखेको भन्दै तारिफ गरेका छन् ।

इंग्लिस क्लब म्यानचेस्टरका पूर्वखेलाडी मोउरिन्होले रोनाल्डोको काम र मेहनत असामान्य रहेको बताए । र, त्यही कुराले गर्दा ३३ वर्षको उमेरमा पनि उनी विश्व फुटबलको केन्द्रमा रहेको बताए ।

‘त्यहाँ यस्ता खेलाडी ज्यादै थोरै मात्र छन्, जो शारीरिक मात्रै नभएर मानसिक रूपमा पनि निकै बलिया छन्,’ मोउरिन्होले भने, ‘उनको तुलना कसैसँग हुँदैन ।’

मोउरिन्होले रोनाल्डो हेडिङ गोलका लागि विशेषज्ञ भएको बताए । ‘टोउकोले गोल गर्ने रोनाल्डोको स्वभाव बडा गजब छ । यो उनको डिएनएमै छ,’ मोउरिन्होले थपे, ‘उनी हेडिङ गोलका विशेषज्ञ हुन्, उनीजस्ता कोही छैनन् ।’

मोउरिन्होले बार्सिलोनाका लिओनल मेस्सीसँग रोनाल्डोको तुलना गर्दै रोनाल्डो नेता खेलाडी भएको बताए । ‘यो धेरैलाई थाहा छ कि, रोनाल्डो एक नेता खेलाडी हुन् । उनी कठिन अवस्थामा पनि टिमलाई नेतृत्व दिन्छन् । एकल प्रयासमा जिताउन सक्छन्,’ मोउरिन्होले भने, ‘यस मामिलामा मा मेस्सी ज्यादै सामान्य व्यक्ति हुन् ।’

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार ०४:५७
Loading...