‘अब मेस्सीले बालोन डि‘ओर जित्न कठिन छ’

एजेन्सी, जेठ २०
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्होले सन् २०१९ को बालोन डि‘ओर अवार्डको सम्भावित विजेता खेलाडीबारे धारणा राखेका छन् । हाल फुटबल विशेषज्ञका रूपमा रहेका पोर्चुगिज प्रशिक्षकले च्याम्पियन्स लिगको फाइनलपछि बालोन डि‘ओरमा नयाँ मोड आएको बताए ।

केही समयअघि मोउरिन्होले बार्सिलोनाका लिओनल मेस्सी बालोन डि‘ओरका प्रमुख दाबेदार रहेको बताएका थिए । तर, ‘इलेभन स्पोर्टस्’सँग कुरा गर्दै उनले च्याम्पियन्स लिग लिभरपुलले जितेपछि अब मेस्सीको सम्भावना कमजोर भएको उनले बताएका छन् ।

‘विश्वको उत्कृष्ट खेलाडी बन्न विजेता बन्नुपर्छ,’ मोउरिन्होले भने, ‘यदि कुनै खेलाडीले ठूला उपाधि जित्दैन भने अन्य कुराको खास अर्थ रहँदैन ।’

मोउरिन्होले हालसम्म इंग्लिस खेलाडीसहित मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि बालोन डि‘ओरको दौडमा रहेको बताए । ‘यदि युभेन्टसले च्याम्पियन्स लिग जितेको थियो भने अवश्य पनि रोनाल्डो एक नम्बर दाबेदार हुन्थे,’ मोउरिन्होले भने, ‘तर, अझै पनि उनीसँग एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय टुर्नामेन्ट बाँकी नै छ । उनले पर्खिनुपर्छ ।’

मोउरिन्होले बार्सिलोना च्याम्पियन्स लिगमा हारेपछि मेस्सी बालोन डि‘ओरबाट टाढा पुगेको बताए । ‘बार्सिलोनाले ला लिगा जितिसकेपछि यदि च्याम्पियन्स लिग जितेको थियो अवश्य पनि मेस्सीले जित्नेमा कुनै शंका थिएन,’ मोउरिन्होले भने, ‘तर, अब कठिन छ । मेस्सीका लागि अन्तिम मौका भनेको कोपा अमेरिका जित्नुपर्छ ।’

मोउरिन्होले पछिल्लो समय बालोन डि‘ओरमा खेलाडीको व्यक्तिगत प्रदर्शन मात्रै नहेरेर ठूला जितलाई पनि हेर्ने गरेको बताए । ‘म सधैं भन्छु– बालोन डिओर जित्न ठूला खेल र उपाधि जित्नुपर्छ, त्यो बेला व्यक्तिगत गोलले ठूलो अर्थ राख्दैन । ठूला खेल र प्रतियोगिताका गोल महत्त्वपूर्ण हुन्छन् ।’

मोउरिन्होले बालोन डि‘ओर लिभरपुलका खेलाडीले जित्ने करिब पक्का भएको बताए । ‘मेरो हिसाबमा यदि अर्जेन्टिनाले कोपा अमेरिका जित्न सकेन भने बालोन डि‘ओर लिभरपुलका खेलाडीले जित्छन् । यो सिजन मेस्सीको व्यक्तिगत प्रदर्शन उच्च छ । तर, अब उनलाई त्यत्तिले मात्रै पुग्दैन । उनले कोपा अमेरिका जित्नैपर्छ ।’

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार ०३:२४
Loading...