नेइमारद्वारा ‘बलात्कार’ आरोप अस्वीकार, भने– ‘यो पैसा कमाउने खेल हो’

एजेन्सी, जेठ १९
फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार फरवार्ड नेइमारले आफूमाथि लागेको बलात्कार आरोप अस्वीकार गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा नेइमारले एक युवतीमाथि नशाको सुरमा बलात्कार गरेको आरोप लागेको छ ।

पेरिसको एक होटलमा आफ्नो इच्छाबिपरीत नेइमारले जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै एक महिलाले अघिल्लो दिन साओ पाओलो प्रहरीमा मुद्दा हालेकी थिइन् ।

ब्राजिलियन मिडियाले यस्तो खबर प्रकाशित गरेपछि नेइमारले वक्तव्य जारी गरेका छन् । उनका व्यवस्थापकले जारी गरेको वक्तव्यमा नेइमारले आफूमाथि लागेको आरोप झुठो र अन्यायपूर्ण रहेको दाबी गरेका छन् ।

नेइमारले पैसा कमाउने नियतले आफूमाथि झुठो आरोप लगाएको बताएका छन् । नेइमारले गलत आरोपबाट आफू विचलित नहुने भन्दै कानुनी उपचारमा जाने पनि बताएका छन् ।

नेइमारले सामाजिक सन्जाल इन्स्टाग्राममा करिब ७ मिनेट लामो भिडियोसमत पोस्ट गरेका छन् । सो भिडियोमा एक केटा र केटीबीच हुने सम्बन्ध रहेको बताएका छन् । उनले भिडियोमा ह्वाट्स एप म्यासेजका स्क्रिन सर्ट पनि देखाएका छन् ।

उनले आफूमाथि लागेको आरोप झुठो रहेको उल्लेख गर्दै त्यो झुठा हो भनेर साबित गर्न आफूले भिडियो र इन्स्टाग्रामका म्यासेज सार्वजनिक गरेको पनि बताएका छन् ।

अघिल्लो दिन ती युवतीले आफ्नो नाम गोप्य राख्दै प्रहरीकहाँ लीखित उजुरी दर्ता गराएकी थिइन् । उनले प्रहारीमा दिइएको उजुरीमा नेइमारले होटेलमा भेट्न बोलाएर नाशाको सुरमा बलात्कार गरेको दाबी गरेकी छन् ।

प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १३:३५
Loading...