च्याम्पियन्स लिग जितेपछि भान डाइकले भने– ‘बालोन डि‘ओर मेस्सीले जित्नुपर्छ’

एजेन्सी, जेठ १९
सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ । बार्सिलोना युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि र भान डाइकको टिम लिभरपुलले सो उपाधि जितेपछि धेरैले मेस्सीभन्दा भान डाइकलाई बालोन डि‘ओरका लागि प्रमुख दाबेदार मानेका छन् ।

तर, भान डाइक स्वयंले भने मेस्सीले यसपटक बालोन डि‘ओर अवार्ड जित्न सक्ने बताएका छन् । लिभरपुलले गत राति स्पेनको मड्रिडमा च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामलाई २–० ले हराएर उपाधि जितेपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सोक्रममा भान डाइकले मेस्सी विश्वकै उतकृष्ट खेलाडी रहेको बताउँदै उनले बालोन डि‘ओर जित्नुपर्ने बताए । ‘मेरो विचारमा मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनले बालोन डि‘ओर जित्नुपर्छ,’ भान डाइकले भने, ‘उनले यस सिजन सो अवार्ड जित्न सबथोक गरेका छन् ।’

भान डाइकले आफूले अवार्ड जिते खुसी हुने पनि बताए । ‘तर, यदि मैले जितें भने बालोन डि‘ओर लिनेछु । खुसी हुनेछु । तर, च्याम्पियन्स लिग हारे पनि मेस्सी यो अवार्डका लागि पहिलो हकदार छन् ।’

प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १३:००
Loading...