काठमाडौं, जेठ १९
इंग्लिस टिम लिभरपुल सिजन २०१८/१९ को युरोपियन च्याम्पियन्स लिग फुटबलको च्याम्पियन बन्यो । स्पेनको मड्रिडमा भएको गत राति भएको फाइनल खेलमा उसले लिग प्रतिस्पर्धी टिम टोटनह्यामलाई २–० ले हराउँदै उपाधि जित्यो ।
१४ वर्षपछि च्याम्पियन्स लिग जित्दा लिभरभुलले स्पेनिस महारथि बार्सिलोनालाई समेत पछि पारेको छ । गत राति लिभरपुलले जितेको च्याम्पियन्स लिगको उपाधि क्लबको इतिहासमा छैटौं थियो ।
सो उपाधिसँगै च्याम्पियन्स लिगको उपाधि संख्यामा उसले बार्सिलोनालाई पछि पारेको हो । बार्सिलोनाले हालसम्म यो उपाधि जम्मा ५ पटक मात्रै जितेको छ । तर, लिभरपुलले भने बार्सिलोनालाई पछि पार्दै छैटौं उपाधि जित्यो ।
सँगै, लिभरपुलले जर्मन क्लब बार्यन म्युनिखलाई पनि पछि पारेको छ । बार्यनले पनि यो उपाधि जम्मा ५ पटक नै जितेको छ । लिभरपुलले एकसाथ बार्यन र बार्सिलोनालाई पछि उछिनेर ६ पटक उपाधि जित्नेमा आफ्नो नाम लेखायो ।
यसअघि अन्तिम चारमा लिभरपुलले बार्सिलोनालाई नै समग्रमा ४–३ ले हराएर फाइनल पुगेको थियो । बार्सिलोनाको घरमा भएको पहिलो लेग ३–० ले हारे पनि लिभरपुलले आफ्नो घरमा ४–० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
अब लिभरपुल च्याम्पियन्स लिग सर्वाधिक धेरै जित्ने तेस्रो टिम बनेको छ । ऊपछि इटालिन एसी मिलानले ७ पटक जितेको छ स्पेनिस रियल मड्रिडले सर्वाधिक धेरै कूल १३ पटक जितेको छ ।
प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार ०६:००