मेस्सी, स्वारेज र नेइमारको छुट्टै ‘ह्वाट्सएप’ ग्रुप !

एजेन्सी, जेठ १८
थुप्रै फुटबल क्लबका टिमले सामाजिक सन्जाल ‘ह्वाट्सएप’ वा अन्य कुनै ग्रुप प्रयोग गर्छन् । उनीहरूले खेलाडीबीच सामूहिक छलफल तथा विमर्शका लागि यस्तो ग्रुप चलाउने गर्छन् ।

तर, स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले भने निकटका साथीभाइसँग पनि बेग्लै ह्वाट्सएप ग्रुप चलाउने गरेको उनी आफैंले खुलासा गरेका छन् ।

मेस्सीका अनुसार सो ग्रुपमा मेस्सीसँगै लुइस स्वारेज र पूर्वसहकर्मी नेइमार छन् । नेइमार २०१७ मा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी जानुअगावै मेस्सी, स्वारेज र नेइमारले यस्तो ग्रुप चलाउँथे ।

व्यक्तिगत रूपमा सुमधुर मित्रता रहेका यी तीन खेलाडीले आफूहरूबीच मात्रै यस्तो ग्रुप चलाएका थिए । तर, नेइमार बार्सिलोना छाडेर गइइसकेपछि पनि उनीहरूबीच नियमित रूपमा ह्वाट्सएपमा कुराकानी हुने गरेको मेस्सीले बताएका छन् ।

‘नेइमार एक अद्भुत खेलाडी हुन्,’ अघिल्लो दिन अर्जेन्टिनामा ‘फक्स स्पोर्टस्’ सँग कुरा गर्दै मेस्सीले भने ।

उनले अघि थपे, ‘हामी अझै पनि पनि कुरा गर्छौं, त्यो पनि ह्वाट्सएप ग्रुपमै । जसमा म, लुइस स्वारेज र नेइमार छौं ।’

मेस्सीले ग्रुपको नाम पनि खुलाए । ‘ग्रुपको नाम चाहिँ साउथ अमेरिकन्स यस्तै केही छ ।’

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १२:५४
Loading...