सेभिल्ला तथा आर्सनलका पूर्वखेलाडीको कार दुर्घटनामा निधन

एजेन्सी, जेठ १८
स्पेनिस क्लब सेभिल्ला तथा इंग्लिस क्लब आर्सनलका पूर्वफरवार्ड जोसे एन्टोनियो रेयसको कार दुर्घटनामा परी निधन भएको छ । स्पेनिस खेलाडी उनको शनिबार ३५ वर्षको अल्पायुमै कार दुर्घटना परी निधन भएको हो ।

उनको पूर्वक्लब सेभिल्लाले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वखेलाडीको कार दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । रेयसले सेभिल्लाको एकेडेमीबाट खेल करिअर सुरु गरेका थिए ।

हालसालै भने उनले सिजन २०१८/१९ का लागि एक्स्ट्रेमाडुरा क्लबसँग सम्झौता गरेका थिए । ‘यो एक ज्यादै दुखदायी खबर हो,’ सेभिल्लाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो एकेडेमीबाट उत्पादित जोसे एन्टोनियो रेयसको कार दुर्घटनामा परेर निधन भएको छ । हामी उनको मृत आत्माको चीर शान्तिको कामना गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

रेयसले विगतमा आफ्नो करिअर दौरान २००० देखि २००४ सम्म सेभिल्ला, २००४ देखि २००७ सम्म इंग्लिस क्लब आर्सनल, २००६ देखि २००७ सम्म रियल मड्रिड (लोन), २००७ देखि २०११ सम्म एथ्लेटिको मड्रिडबाट खेलेका थिए भने पछि २०१२ देखि २०१६ सम्म सेभिल्लाबाटै खेलेका थिए । उनले क्लब करिअरमा ५१४ खेलबाट कूल ७३ गोल गरेका छन् ।

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ११:५६
Loading...