च्याम्पियन्स लिग फाइनल : लिभरपुल र टोटनह्याम ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं, जेठ १८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि दुई इंग्लिस टिम लिभरपुल र टोटनह्याम भिड्दैछन् । फाइनल खेल स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा हुनेछ । यो एथ्लेटिको मड्रिडको घरेलु रंगशाला हो ।

आज लिभरपुल छैटौंपटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यसाथ मैदान उत्रिँदा टोटनह्याम भने पहिलोपटक युरोपियन प्रतियोगिताको ठूलो उपाधि उचाल्ने योजनामा छ ।

यसअघि अन्तिम चारमा लिभरपुलले बार्सिलोनालाई समग्रमा ४–३ तथा टोटनह्यामले डच टिम आयाक्ससँग समग्रमा ३–३ को बराबरी खेलेर अवे गोलमा अघि रहँदै फाइनल प्रवेश गरेको थियो ।

‘हेड टु हेड’मा को बलियो ?

११ वर्षपछि प्रिमियर लिगका दुई टिम च्याम्पियन्स लिगको फाइनलमा भिड्दै गर्दा यी दुई टिमको विगत कस्तो होला ? यहाँ यसबारे चर्चा गरिएको छ ।

लिभरपुल र टोटनह्याम घरेलु लिग प्रिमियर लिगका चीर प्रतिस्पर्धी टिम हुन् । यी टिमबीच लिगमा अक्सर उपाधि होड र टप–४ का लागि प्रतिस्पर्धा हुने गर्छ । त्यसैगरी, अन्य घरेलु प्रतियोगितामा पनि यी टिम भिड्ने गर्छन् ।

जारी सिजन प्रिमियर लिग सकिँदा लिभरपुल दोस्रो स्थानमा रह्यो । उसले लिग च्याम्पियन म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेर सिजन पूरा गर्यो । सिटी ९८ अंकसहित च्याम्पियन बन्दा लिभरपुल ९७ अंकसहित दोस्रोमा रह्यो ।

त्यसपछि चेल्सी ७२ अंकसहित तेस्रोमा रह्यो भने टोटनह्याम ७१ अंकसहित चौथोमा रह्यो । यसपटक लिगमा टोटनह्याम लिभरपुलभन्दा २६ अंकले पछि रह्यो । यो निकै फराकिलो अन्तर हो ।

‘हेड टु हेड’मा हेर्दा लिभरपुल र टोटनह्याम कूल १७२ पटक आमनेसामने भएका छन् । जसमा लिभरपुल हाबी छ । उसले टोटनह्यामको भन्दा दोब्बर बढी खेल जितेको छ ।

यी दुई टिम १७२ पटक भिड्दा ८२ खेलमा लिभरपुलले बाजी मारेको छ भने टोटनह्यामले ४८ खेल मात्रै जितेको छ । यसबाहेक ४२ खेल भने बराबरीमा सकिएका छन् ।

लिभरपुल र टोटनह्याम युरोपियन च्याम्पियन्स लिगमा पनि पहिलोपटक फाइनलमा भिड्न लागेका हुन् । यी दुई टोली धेरैजसो घरेलु लिगमा भिडेका छन् । त्यसैगरी, लिग कपमा पनि यी दुई टोलीबीच पटक–पटक प्रतिस्पर्धा भएको छ ।

लिभरपुल र टोटनह्यामले खेलेका पछिल्ला ५ खेल सबै प्रिमियर लिगमै खेलेका छन् । जसमा ५ मध्ये ३ खेल लिभरपुलले जित्दा १ खेल भने टोटनह्यामले जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

यस सिजन घरेलु लिगमा भएका होम एन्ड अवे गरी दुवैवटै खेल लिभरपुलले जितेको थियो । टोटनह्यामले लिभरपुललाई अन्तिमपटक २०१७ को अक्टोबरमा प्रिमियर लिगमा ४–१ ले हराएको थियो । त्यसता उनले लिभरपुललाई कुनै पनि खेलमा हराउन सकेको छैन ।

आजको फाइनल खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ०८:३७
Loading...