च्याम्पियन्स लिगको उपाधिका लागि आज लिभरपुल र टोटनह्याम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं, जेठ १८
‘क्लबहरूको विश्वकप’ भनेर चिनिने युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि दुई इंग्लिस टिम लिभरपुल र टोटनह्याम आमनेसामने हुँदैछन् ।

फाइनल खेल स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा हुनेछ । यो एथ्लेटिको मड्रिडको घरेलु रंगशाला हो । खेल नेपाली समयअनुसार ठीक राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

११ वर्षपछि युरोपको ठूलो प्रतियोगितामा दुई इंग्लिस टिम फाइनल भिड्न लागेका हुन् । यसअघि सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई हराएर हराएको थियो भने टोटनह्यामले डच टिम आयाक्सलाई हराएर फाइनल पुगेको थियो ।

अघिल्लो सिजन पनि फाइनल खेलेको लिभरपुल आज लिग प्रतिस्पर्धी टिमलाई हराएर समग्रमा छैटौंपटक च्याम्पियन्स लिग जित्ने दाउमा छ । यता, टोटनह्याम भने यसपटक नयाँ इतिहास रच्ने दाउमा छ ।

यस सिजन प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा रहेर सिजन पूरा गरेको छ भने टोटनह्याम चौथो स्थानमा रहँदै सिजन पूरा गर्न सफल भयो । लिगको अंक तालिका हेर्दा टोटनह्याभन्दा लिभरपुल निकै बलियो स्थितिमा रह्यो ।

कमब्याक टिमको भिडन्त :

आज फाइनल खेल्न लागेका दुईटै टिमले सेमिफाइनलमा शानदार पुनरागमन जित निकालेका हुन् । लिभरपुलले पहिलो लेग बार्सिलोनाको घरमा ३–० ले हारेको थियो । तर, उसले आफ्नो घर एनफिल्डमा बार्सिलोनामाथि ४–० को चमत्कारिक जित निकाल्दै समग्रमा ४–३ को जितसहित फाइनलमा स्थान बनाएको थियो ।

यता, टोटनह्यामले पनि सेमिमा डच टिम आयाक्ससँग कमब्याक जित नै निकालेको थियो । ऊ पहिलो लेगमा आफ्नो घरमा ०–१ ले हारेको थियो । तर, आयाक्सको घरमा भएको दोस्रो लेगमा टोटनह्याम खेलको ३५औं मिनेटसम्म पुग्दा समग्रमा ३–० ले पछि परेको स्थितिमा त्यसपछि दोस्रो हाफमा लगातार ३ गोल हानेर कमब्याक जित निकालेको थियो ।

टोटनह्यामले आयाक्सको घरमा चमत्कारिक जित निकाल्दा ब्राजिलियन खेलाडी लुकास मोउराले सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । उनकै ह्याट्रिक गोलको मदतमा टोटनह्याम कठिन अस्थाबाट फाइनल पुगेको थियो ।

फाइनलमा चोटग्रस्त खेलाडी फर्किंदै :

यसअघि अन्तिम चारमा लिभरपुल आफ्ना ३ जना प्रमुख खेलाडीबिनै खेलेको थियो । फरवार्डद्वय मोहमद सालाह, रोवर्ट फर्मिन्हो र नावी केइटा ३ जना खेलाडीबिनै पनि उसले बार्सिलोनालई ४–० को लज्जास्पद हार चखाएको थियो । त्यसपछि यी घाइते खेलाडीले फाइनल खेल्नेमा शंका थियो ।

तर, एक महिनाको बीचमा लिभरपुलका २ जना खेलाडी फिट भएका छन् । सालाह र फर्मिन्हो फाइनल खेल्न तयार छन् भने केइटा यस खेलमा उपलब्ध छैनन् । अघिल्लो दिन प्रशिक्षक जोर्गेन क्लोपले पत्रकार सम्मेनलमा बोल्दै सालाह र फर्मिन्हो दुवै फाइन खेल्न तयार रहेको बताएका थिए ।

यता, टोटनह्यामका चोटग्रस्त स्टार फरवार्ड ह्यारी केन पनि चोटमुक्त हुँदै मैदान फर्किएका छन् । उनी च्याम्पियन्स लिगमा अन्तिम आठमा म्यानचेस्टर सिटीविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए ।

तर, उनी लिभरपुलसँग उपाधि भिडन्तमा उत्रिन तयार छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक मोउरिसियो पोचेटिनोले केनले फाइनलमा सुरुआती टिममबाटै स्थान बनाउने सम्भावना रहेको बताएका थिए । उनी यसै साताबाट प्रशिक्षणमा फर्किएका थिए ।

लिभरपुल हारको शृंखला भंग गर्ने, टोटनह्याम जितको इतिहास रच्ने दाउमा :

हालसम्म पाँचपटक च्याम्पियन्स लिग जितेको लिभरपुल यसपटक जितेर छैटौं उपाधि सुरक्षित गर्न चाहन्छ । त्योभन्दा बढी लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा भोग्दै आएको हारको शृंखला भंग गर्न चाहन्छ ।

लिभरपुलले हालसम्म पाँचपटक यो उपाधि जित्दा तीनपटक फाइनलमा हारेको छ । लिभरपुल सन् १९८५ मा इटालियन युभेन्टससँग १–० ले हारेको थियो । त्यसपछि २००७ मा इटालियन एसी मिलानसँग २–१ ले हारेको थियो भने गत सिजन स्पेनिस रियल मड्रिडसँग ३–१ ले पराजित भएको थियो ।

लिभरपुलका प्रशिक्षक क्लोपको नेतृत्वमा लिभरपुल सबैखाले प्रतियोगिताबाट कूल पाँच फाइनलमा पराजित भएको छ । यस्तो रेकर्डबीच लिभरभपुल आज जसरी पनि जित निकालेर उपाधि जित्ने दाउमा छ । जारी सिजन उपाधिमा नील भएको लिभरपुल यो उपाधि जितेर सिजनलाई शानदार बनाउन चाहन्छ ।

यता, टोटनह्याम भने आज इतिहास रच्ने दाउमा छ । युरोपका अन्य प्रतियोगितामा हालसम्म पाँचपटक फाइनल पुगे पनि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको ऊ लिभरपुललाई हराएर पहिलोपटक युरोपियन च्याम्पियन बन्ने दाउमा छ ।

तर, उसलाई यो बाटो सजिलो छैन । किनभने, उसको उपाधि चुम्ने बाटोमा यो सिजन निकै उच्च लयमा रहेको लिभरपुल खडा छ । टोटनह्याम यसअघि सन् १९८४ मा युएफए कपको फाइनल पुगेको थियो ।

तपाईंको विचारमा फाइनल खेलको स्कोर कस्तो होला ? कमेन्ट बक्समा आफ्नो अनुमानित स्कोर लेख्नुहोस् !

प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ०२:४३
Loading...