च्याम्पियन्स लिगको फाइनल खेलबारे रोनाल्डोको यस्तो भविष्यवाणी

एजेन्सी, जेठ १७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा शनिबार राति फाइनल खेल हुँदैछ । यसपटक उपाधि भिडन्तमा प्रिमियर लिगका दुई बलिया क्लब लिभरपुल र टोटनह्याम खेल्दैछन् ।

साबिक उपविजेता लिभरपुल र लामो समयपछि फाइनल पुगेको टोटनह्याम उपाधि भिडन्तमा उत्रिनुअघि ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डोले सो खेलको ‘प्रेडिक्सन’ गरेका छन् । आज स्पेनिस पत्रिका ‘एएस’सँग कुरा गर्दै ब्राजिलियन रोनाल्डोले यसपटक लिभरपुललाई दाबेदार मानेका छन् ।

विगतमा रियल मड्रिड र बार्सिलोना दुवै क्लबबाट व्यावसायिक फुटबल खेलेका उनले फाइनलमा लिभरपुलले टोटनह्यामलाई दबाबमा राखेर उपाधि जित्ने बताए । ‘यो खेल हेर्नका लागि निकै रोमाञ्चक हुनेमा म विश्वस्त छु,’ रोनाल्डोले भने ।

उनले खेलको स्कोरसमेत अनुमान गर्दै उपाधि लिभरपुलले जित्ने भविष्यवाणी गरे । उनले लिभरपुलले सहजै उपाधि जित्ने बताए । ‘मेरो हिसाबमा लिभरपुलले टोटनह्यामलाई १–३ ले हराएर उपाधि जित्छ,’ रोनाल्डोले थपे ।

यसपटक च्याम्पियन्स लिगको फाइनल खेल स्पेनिस क्लब एथ्लेटिको मड्रिडको घरेलु रंगशालामा हुँदैछ ।

प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार १४:२७
Loading...