कोन्टे इन्टर मिलानको प्रमुख प्रशिक्षकमा नियुक्त

एजेन्सी, जेठ १७
इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टे इटालियन क्लब इन्टर मिलानको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । मिलानले केही दिनअघि लुसियानो स्पालेटीलाई बर्खास्त गरेपछि खाली भएको पदमा कोन्टेलाई नियुक्त गरिएको हो ।

४९ वर्षीय इटालियन प्रशिक्षक कोन्टे गत सिजन चेल्सीबाट बर्खास्तमा परेका थिए । त्यसअघि चेल्सीमा दुई सिजन बिताएका उनले प्रिमियर लिग र एफए कपको उपाधि जिताएका थिए ।

मिलन यसपटक सिरी ‘ए’मा लिगको टप–४ मा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट भएको छ । कोन्टेको अनुबन्धले मिलान अब थप बलियो हुने अपेक्षा गरिएको छ ।

कोन्टेले विगतमा युभेन्टसको समेत प्रशिक्षक रहेर तीन सिजन लगातार लिग उपाधि जिताएका थिए । मिलानको प्रशिक्षक बनेपछि उनले अर्को सिजन टिमलाई लिग च्याम्पियन बनाउने तथा च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न कोसिस गर्ने बताएका छन् ।

प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार १२:२८
Loading...