‘फेरि च्याम्पियन्स लिग जित्न बार्सिलोनाले नेइमार फर्काउनुपर्छ’

एजेन्सी, जेठ १७
सन् २०१५ मा ट्रिबेल उपाधि जितेयता स्पेनिस बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग जित्न सकेको छैन । पछिल्ला चार वर्ष लगातार बार्सिलोना फाइनल नपुगी आउट हुँदै आएको छ ।

गत वर्ष बार्सिलोना अन्तिम आठमा इटालिन रोमासँग पराजित हुँदै आउट भयो भने यसपटक इंग्लिस टिम लिभरपुलसँग पराजित हुँदै अन्तिम चारबाट आउट भयो । पछिल्ला चार वर्ष बार्सिलोनालाई युरोपको सबैभन्दा ठूलो उपाधि जित्नु ‘फलामको चिउरा चपाउनु’सरह भएको छ ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड रिभाल्डोले बार्सिलोनाले पुनः च्याम्पियन्स लिग जित्न पूर्वखेलाडी नेइमार फर्काउनुपर्ने बताएका छन् । हालसालै एक अन्तर्वार्तामा बोल्दै उनले बार्सिलोनाले पछिल्ला वर्ष च्याम्पियन्स लिग जित्न नसक्नुमा कहीं न केही नेइमारको अभाव खड्एिको बताए ।

‘मेरो विचारमा बार्सिलोनाले पछिल्ला वर्ष च्याम्पियन्स लिग जित्न नसक्नुका पछाडि कहीं न कहीं नेइमारको अनुपस्थिति मुख्य कारण देख्छु,’ रिभाल्डोले भने, ‘यो कुरा कप्तान मेस्सी र क्लबलाई राम्रोसँग थाहा छ ।’

रिभाल्डोले यो बताएका छन् कि, बार्सिलोनाले पुनः च्याम्पियन्स लिग जित्न नेइमार फिर्ता ल्याउनुपर्छ । ‘यो कति सजिलो वा अप्ठेरो छ थाहा छैन । तर, यदि बार्सिलोनाले फेरि युरोपियन उपाधि जित्नु छ भने नेइमार फर्काउनुपर्छ,’ रिभाल्डोले भने, ‘बार्सिलोनाले यो कुरा अनुभूत गरेको हुनुपर्छ ।’

नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी पुगेका थिए । तर, दुई सिजन पेरिसमा बिताएका उनले ठूला उपाधि जित्न नसक्दा निराश छन् ।

प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०४:५९
Loading...