पत्रकार सम्मेलन गरेर रामोसले भने– ‘म सन्यास नलिँदासम्म रियलमै हुनेछु’

एजेन्सी, जेठ १६
एकाएक क्लब छाड्ने चर्चामा रहेका स्पेनिस रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफू रियलमै रहने पुष्टि गरेका छन् । उनले आज स्पेनमा पत्रकार सम्मेलन आयोजना गरेर आफू रियलमै रहने बताएका हुन् ।

यसअघि रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्बन्ध चिसिएपछि क्लब छाड्ने तयारी गरेको चर्चा बढेको थियो । उनलाई चिनियाँ सुपर लिग क्लबबाट आकर्षक अफर आएको बताइएको थियो ।

क्लबका अध्यक्ष पेरेज स्वयंले पनि रामोसले आफूसँग क्लब छाड्नेबारे अनुरोध गरेको तर क्लब उनलाई चीन जान ‘फ्रि ट्रान्सफर’मा छाड्न तयार नभएको बताएका थिए ।

यी सबैका बावजुत रामोसले आज पत्रकार सम्मेलन आयोजना गरि आफू रियलमै रहने पुष्टि मात्रै गरेनन्, प्रेसले आफ्नाबारे अनावश्यक समाचार छापेको आरोपसमेत लगाए । ‘म रियलको सिपाही हुँ । म सन्यास नलिँदासम्म यहीं रहनेछु,’ रामोसले पत्रकार सम्मेलनमा भने ।

रामोसले चिनियाँ क्लबबाट आफूलाई अफर आए पनि आफूले इच्छा नगरेको बताए । ‘हो, मलाई चीनबाट अफर छ । तर, अझै क्लबसँग मेरो सम्झौता छ । म यहींबाट करिअर पूरा गर्न चाहन्छु ।’

रामोसले नयाँ सम्झौताका लागि आफूले दबाब दिन क्लब छाड्ने रणनीति अपनाएको भन्ने गलत रहेको बताए । ‘म यो प्रष्ट पार्न चाहन्छु कि, नयाँ सम्झौताका लागि यो मेरा रणनीति थिएन, मेराबारे मिडियामा गलत खबर छापिए,’ उनले भने ।

३३ वर्षीय रामोस सन् २००५ देखि लगातार रियलबाट खेलिरहेका छन् । उनलाई रियलले त्यसबेला सेभिल्लाबाट अनुबन्ध गरेको थियो ।

यस सिजन रियल च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेमा नील भए पछि कप्तान रामोस निराश थिए । यसकै कारण पेरेज र उनको सम्बन्धमा खटपट पैदा भएको थियो ।

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १६:२३
Loading...