डिबालालाई बार्यन म्युनिखले भित्र्याएरै छाड्ने !

एजेन्सी, जेठ १६
जर्मन क्लब बार्यन म्युनिखले इटालियन क्लब युभेन्टसका युवा फरवार्ड पाउलो डिबाला भित्र्याउन कसरत थालेको छ । यसपटकको बुन्डेसलिगा च्याम्पियन बार्यनले सिरी ‘ए’ च्याम्पियन युभेन्टसका स्टार फरवार्डलाई आकर्षक मूल्यमा अनबुन्ध गर्न चासो बढाएको हो ।

२ वर्षअघि रियलबाट लोनमा बार्यन पुगेका कोलम्बियन खेलाडी हामेस रोड्रिग्वेज स्पेन फर्किने भएपछि बार्यन नयाँ खेलाडीको खोजीमा छ । यता, सिजन सकिएसँगै टोलीका लिजेन्ड खेलाडीद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीले सन्यास लिएपछि बार्यन आगामी सिजनमा थप समस्यामा पर्नेछ ।

यही कारण पनि बार्यनले अर्जेन्टिनी युवा खेलाडीलाई जर्मनी उतार्ने तयारी गरेको हो । यता, युभेन्टसमा डिबालाको भूमिका यस सिजन साँघुरियो । क्रिस्टियानो रोनाल्डो प्रमुख खेलाडी बनेर पुगेपछि डिबालाले पर्याप्त खेल्न पाएका छैनन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्यनले डिबालाका लागि युभेन्टससँग ८० मिलियन युरो खर्चने तयारी गरेको छ । केही समयअघि डिबालाले भने आफू युभेन्टसमा खुसी रहेको बताउँदै क्लब नछाड्ने बताएका थिए ।

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १४:५४
Loading...